सिन्धुपाल्चोक,
इन्द्रावती गाउँपालिकाले “सेवाप्रवाह घरदैलोमा” अभियानअन्तर्गत वडा नं. ३ मा एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ। स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकसँगको साझेदारीमा आयोजित शिविरमार्फत स्वास्थ्य, राष्ट्रिय परिचयपत्र तथा पशुपक्षीसम्बन्धी सेवा एकै स्थानबाट प्रदान गरिएको हो।
शिविरमा स्वास्थ्यतर्फ १ सय ४५ जनाको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ। परीक्षण गरिएकामध्ये १ सय ३ महिला र ४२ पुरुष रहेका छन्। पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएका ३५ महिलामध्ये ४ जनामा पोजेटिभ देखिएको छ। यस्तै, २ जना गर्भवतीको भिडियो एक्स–रे गरिएको, ५ जनामा आङ खस्ने समस्या पहिचान भएको, जसमध्ये २ जनामा रिङ राखिएको र २ जनालाई थप उपचारका लागि रिफर गरिएको जनाइएको छ। शिविरमा ७५ जनालाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो।
राष्ट्रिय परिचयपत्र सेवाअन्तर्गत १७ जनालाई परिचयपत्र वितरण गरिएको छ। परिचयपत्र पाउनेमध्ये १२ जना पुरुष र ५ जना महिला रहेका छन्।
पशुपक्षी सेवातर्फ ९ सय ३० पशुपक्षीलाई औषधि वितरण तथा उपचार सेवा प्रदान गरिएको छ। साथै २५ वटा कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको गाउँपालिकाले जनाएको छ। यस सेवाबाट १ सय २८ जना कृषक प्रत्यक्ष लाभान्वित भएका छन् भने पशुपालनसम्बन्धी परामर्श सेवासमेत प्रदान गरिएको थियो।
गाउँपालिकाले शिविरलाई सफल बनाउन सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सेवा अझ प्रभावकारी बनाउन सबैको सहयोग, समन्वय र रचनात्मक सुझावको अपेक्षा गरेको छ।
