मेलम्ची नगरपालिकाद्वारा बजार अनुगमन : म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्री जफत गरी नस्ट 

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

उपभोक्ताको संरक्षण, बजार अनुशासन कायम तथा व्यवसायिक पारदर्शिता सुदृढ गर्ने उद्देश्य सहित मेलम्ची नगरपालिकाले तीनदिने सशक्त बजार अनुगमन अभियान सम्पन्न  गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संयुक्त पहलमा मेलम्ची नगरपालिकाले “मूल्य पारदर्शिता सप्ताह” अन्तर्गत नगरपालिकाभित्रका विभिन्न बजार क्षेत्रमा अनुगमन अभियान सञ्चालन गरिएको हो । 

नगरपालिकाको नेतृत्वमा भएको उक्त अनुगमन कार्यक्रममा नगर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च, सुरक्षा निकाय, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अनुगमनका क्रममा म्याद गुज्रिएका, गुणस्तरहीन तथा बिक्रीयोग्य नरहेका विभिन्न खाद्य सामग्रीहरू फेला परेका थिए। अनुगमन टोलीले ती सामग्रीहरू जफत गरी नष्ट गरेको जनाएको छ।

राजस्व शाखा प्रमुख दुलालका अनुसार वडा नम्बर ११ मा मात्रै करिब १० हजार रुपैयाँ बराबरका सामग्री जफत गरी नष्ट गरिएको छ भने समग्र नगर क्षेत्रमा गरिएको अनुगमनबाट कुल करिब ५० हजार रुपैयाँ बराबरका सामग्री जफत गरिएको हो।

गत २९ देखि ३१ गते सम्म सञ्चालन गरिएको अभियानमा मेलम्ची, बाहुनेपाटी, भोटेचौर, तालामाराङ, दुवाचौर, सिन्धुखोला लगायतका प्रमुख बजार क्षेत्रमा सञ्चालित खाद्य पसल, होटल, ग्यास डिलर, बेकरी तथा अन्य व्यवसायहरूको स्थलगत निरीक्षण गरिएको नगरपालिकाका राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो।

अनुगमनका क्रममा अधिकांश व्यवसायहरूलाई वस्तु तथा सेवाको स्पष्ट रुपमा देख्नेगरी मूल्यसूची अनिवार्य रूपमा राख्न निर्देशन दिइएको छ। उपभोक्तालाई ठगी, कालोबजारी तथा मनपरी मूल्य निर्धारणबाट जोगाउने लक्ष्यसहित नगरपालिकाले यस अभियानलाई “मूल्यसूची सप्ताह” का रूपमा अघि बढाएको हो ।

नगरपालिकाले व्यवसायीहरूलाई गुणस्तरीय सेवा, स्वच्छ व्यापारिक अभ्यास तथा कानुनी मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ। साथै बजारलाई व्यवस्थित, उत्तरदायी र उपभोक्ता मैत्री बनाउन आगामी दिनमा समेत नियमित तथा प्रभावकारी अनुगमनलाई निरन्तरता दिइने स्पष्ट पारिएको छ ।

यस अभियानलाई सफल बनाउन अहोरात्र खटिनुहुने जनप्रतिनिधि, कर्मचारी, उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च, सुरक्षा निकाय तथा सञ्चार क्षेत्रका प्रतिनिधि प्रति मेलम्ची नगरपालिकाले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

Leave a Reply