काठमाडौ । जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरू सधैं जनसेवाका कार्यमा समर्पित रहनुपर्ने विश्वासका साथ सिन्धुपाल्चोक जिल्लाबाट बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने माननीय प्रदेशसभा सदस्यहरूले आपसी समन्वय र सहकार्यको उद्देश्यसहित संयुक्त भेटघाट गरेका छन्।
बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री माननीय कृष्णकुमार तामाङज्यूको नेतृत्वमा सम्पन्न उक्त भेटघाटमा जिल्लाको समग्र विकास, जनताको सेवा र साझा दृष्टिकोणसहित अघि बढ्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
भेटघाटका क्रममा सहभागी जनप्रतिनिधिहरूले जिल्लाको राजनीतिक, सामाजिक र आर्थिक विकासका लागि प्रदेशस्तरमा नीति निर्माणदेखि कार्यान्वयनसम्म एकताको भावनासहित योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, स्थानीय तहसँग समन्वय गरेर प्रभावकारी जनसेवामुखी कार्यक्रमहरू अघि बढाउने सहमति समेत जनाइएको थियो।
मन्त्री तामाङले सिन्धुपाल्चोकलाई बागमती प्रदेशभित्र उदाहरणीय जिल्लाको रूपमा अघि ल्याउन सबै जनप्रतिनिधि एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो। उहाँले विकासका योजनाहरूमा पारदर्शिता, जिम्मेवारी र परिणाममुखी दृष्टिकोण आवश्यक रहेको पनि बताउनुभयो।
भेटघाटले सिन्धुपाल्चोक जिल्लाको समृद्धि र परिवर्तनका लागि साझा सहकार्यको नयाँ चरण सुरु गरेको जनप्रतिनिधिहरूले विश्वास व्यक्त गरेका छन्।
