मेलम्ची । मेलम्ची, तिपेनी हुँदै भोताङसम्म पुग्ने मेलम्ची खाल्डेखोला खण्ड सडक निर्माण कार्यको शिलान्यास गरिएको छ । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको आयोजना अन्तर्गत उक्त सडक निर्माणको शिलान्यास बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री कृष्ण कुमार तामाङ (समीर) ले गर्नुभएको हो ।
शिलान्यस गर्दै मन्त्री तामाङले धेरै वर्ष अगाडिदेखि चुनावी भाषण बनेको यो सडक अब भाषणमा मात्रै नभई काम गरेरै देखाउनेगरी अघि बढेको बताउनुभयो । अब जनताले कुरामा नभई काममा विश्वास गर्ने बताउँदै सडकलाई प्राथमिकता दिएर काम गर्ने जनता माझ गरेको प्रतिबद्धता पुरा गर्ने क्रममा यो सडक शिलान्यास भएको उहाँको धारणा थियो । साथै सडक निर्माणका लागि स्रोत सुनिश्चित गर्न सहयोग गर्ने सबै प्रति आभार पनि व्यक्त गर्नुभयो । मन्त्री तामाङले प्रदेश सरकारले सडक सञ्जाल विस्तारलाई प्राथमिकतामा राखेको बताउँदै यो सडकले मेलम्ची क्षेत्रको आर्थिक र सामाजिक विकासमा ठूलो टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका बिशेष अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले लामो समयदेखि बन्न नसकेको यस सडक धेरै प्रयासपछि बन्न लागेको बताउनुभयो । सबैको अथक प्रयास पछि बजेट पार्न सफल भएको बताउँदै कसैले पनि व्यक्तिगत तथा पार्टीगत रुपमा जस लिन जरुरी नरहेको प्रमुख तामाङको तर्क छ । पर्यटकीय धार्मिक स्थल पाँचपोखरी पुग्ने मुख्य बाटोको रूपमा रहेको यो सडक पाँचपोखरी तथा मेलम्ची नगरको मात्रै नभई सबै नेपालीहरूको भएको धारणा उहाँको छ ।
साथै यस सडकका कारण मेलम्ची नगरपालिका ले धेरै आलोचना खेप्नु परेको बताउँदै छिटोभन्दा छिटो सहज यात्राको वातावरण बनाउने प्रतिबद्धता समेत जनाउनुभयो ।
आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय, सिन्धुपाल्चोक चौतारामा ईफाता/गेहेन्द्र जे.भी. सँग ठेक्का सम्झौता गरी संचालन गर्न लागिएको यो पाँचपोखरी सडक परियोजनाले स्थानीय बासिन्दालाई सहज आवागमन र बजार पहुँच प्रदान गर्नेछ ।
कार्यक्रममा पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा, मेलम्ची वडा नम्बर १० का अध्यक्ष अमृत खनाल, वडा नम्बर ९ का अध्यक्ष किरण दिप खड्का लगायत पाँचपोखरी थाङपाल गाउँपालिका र मेलम्ची नगरपालिकाका जनप्रतिनिधिहरू, स्थानीय लगायतको बाक्लो सहभागिता रहेको थियो ।
९ करोडमा ठेक्का सम्झौता भएको प्रमुख पुर्वाधार विकास कार्यालय सिन्धुपाल्चोक एवम कार्यक्रमका अध्यक्षप्रकाश पौडेलले बताए ।
