यस वर्ष हेल्पले ७५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्याे

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

हेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड पार्टनरसीप – हेल्पले भदौ २१ गते काठमाडौंमा HELP SEE छात्रवृत्ति वितरण समारोह सम्पन्न गरेको छ ।

कार्यक्रममा यस वर्ष देशका १५ जिल्लाका २३ वटा पालिकाबाट ७५ जना विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि ५० देखि ७५ हजार रुपैयाँसम्मको छात्रवृत्ति प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हेल्पले गरेको सहयोगलाई मात्र होइन, विश्वास र भरोसाको प्रतीकका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई अवसरलाई आत्मसात गरी समाज र देशका लागि योगदान दिन प्रेरित गर्नुभयो ।

विशेष अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख मेयर उपेन्द्र कार्कीले हेल्पले दुर्गम मात्र नभई काठमाडौंका जेहेन्दार र विपन्न विद्यार्थीलाई पनि छात्रवृत्तिमा समेटेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

सोही अवसरमा पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई विशेष सम्मान प्रदान गरिएको थियो। २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पाँचपोखरी थाङ्पाल गाउँपालिकाले सिन्धुपाल्चोक जिल्लाका अरू पालिकाभन्दा उत्कृष्ट स्थान, अर्थात् ७७ दशमलव ७ प्रतिशत नतिजा हासिल गर्न सफल भएको थियो।

कार्यक्रमका बिशेष अतिथि गाउँपालिकाका अध्यक्ष टासी लामाले पालिकाको तर्फबाट सम्मान ग्रहण गर्नुभयो । सम्मान ग्रहण गर्दै अध्यक्ष टासी लामाले HELP र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सहकार्य शैक्षिक गुणस्तर सुधारका लागि महत्वपूर्ण रहेको अवगत गराउनु भयो।

हिमाली गाउँपालिका पाँचपोखरी थाङ्पालले विभिन्न समस्याका बाबजुद यो शैक्षिक उपलब्धि हासिल गर्न सकेकोमा हर्ष महसुस गरेको व्यक्त गर्नुभयो र सम्पूर्ण छात्रवृत्ति प्राप्त विद्यार्थी भाइबहिनीहरूलाई यो अवसर हो, अन्त्य होइन र यसको सदुपयोग गरि धैर्यता र लगनशीलताका साथ अघि बढ्न सल्लाह दिनुभयो।

यो उपलब्धि गाउँपालिकाको नेतृत्वको तदारुकता, अभिभावकहरूको सहयोग, शिक्षकहरूको समर्पण र विद्यार्थीहरूको कडा मेहनतको प्रतिफल रहेको छ। यस सफलतामा हेल्प पनि हिस्सेदार भएकोमा गौरव अनुभव गर्दै आएको छ।

यसका साथै, मोन्डो फाउण्डेशनका सिइओ माथ्यू ब्याण्डले हेल्पसँगको सहकार्यलाई गर्वको विषय बताउनुभयो ।
हेल्पका सह–संस्थापक जिमी लामाले आफ्नो संघर्षको कथा सुनाउँदै विद्यार्थीलाई सकारात्मक सोचसहित अघि बढ्न प्रेरित गर्नुभयो । साथै, छात्रवृत्ति पाएर सफल भएका विद्यार्थीहरूको अनुभव पनि कार्यक्रममा साझा गरिएको थियो ।

हेल्पले विगत १५ वर्षदेखि निरन्तर छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ र हालसम्म ७ सय ४० भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् ।

Leave a Reply