सर्बोच्च पदमा पुगेको व्यक्ति पुनः राजनीतिमा फर्कनु उचित हुदैनः महासचिव शंकर पोखरेल

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्बोच्च पदमा पुगि सकेको व्यक्ति पुनः राजनीतिमा फर्कनु उचित नहुने बताउनुभएको छ । मेलम्चीमा आयोजित पार्टीको प्रथम जिल्ला प्रतिनिधि परिषद बैठकको उद्घाटन गर्दै उहाँले राष्ट्रपति जस्तो पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा आउनु राम्रो नहुने निष्कर्षमा पार्टी पुगेको उहाँको भनाई छ ।

सोही क्रममा उहाँले एमालेलाई कमजोर पार्ने विभिन्न प्रयास भइरहेको उल्लेख गर्दै सबैलाई एकढिक्का भई एकताको आधारमा संगठनलाई सुदृढ बनाउन नेता–कार्यकर्तालाई आव्हान गर्नुभयो। महासचिव पोखरेलले ७० वर्षभन्दा माथिका नेताले नेतृत्व लिन नहुने भन्ने भ्रमलाई चिर्नुपर्ने बताउँदै “विकसित देशहरूमा समेत ७० बर्ष माथिका नेताले नेतृत्व गरिरहेकाले यसलाई कमजोरीको रूपमा नलिनुपर्ने” बताउनुभयो । उहाँले देशमा विकास र शान्ति चाहने पार्टी एमाले नै भएको भन्दै अस्थिरताको राजनीति गर्नेहरू अन्ततः परास्त हुने विश्वास व्यक्त गर्नुभयो।

एमाले सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशनपछि पहिलो पटक परिषद् बैठक आयोजना गरीएको हो । एमालेको विधान महाधिवेशनको सँघारमा सिन्धुपाल्चोकको प्रतिनिधि परिषद्  यो बैठकलाई महत्वका साथ हेरिएको छ । १० औं जिल्ला अधिवेशनपछि एमालेले सबै वडा अधिवेशन पालिकाको अधिवेशन सकेर अहिले प्रतिनिधि परिषद् बैठक आयोजना गरेको हो । प्रतिनिधि परिषद् बैठक पछि एमाले सिन्धुपाल्चोकलाई एकताबद्ध बनाएर लैजाने एमाले सिन्धुपाल्चोकका उपाध्यक्ष अर्जुन भण्डारीले बताउनुभयो । 
बैठकमा जिल्लाभरका ७ सय ४५ बढी प्रतिनिधि र पर्यवेक्षकहरूको सहभागिता रहको एमाले सिन्धुपाल्चोकका सचिव कृष्णगोपाल तामाङले जानकारी दिनुभयो । एमाले जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठको अध्यक्षतामा आयोजित बैठकमा एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेशका इन्चार्ज राजन भट्टराई, शेरबहादुर तामाङ लगायतका नेताहरूको सहभागिता रहेको छ । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीको प्रथम प्रतिनिधि परिषद बैठक १० बुँदे मेलम्ची घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

Leave a Reply