
मेलम्ची नगरपालिकाको आयोजना र नेपाली सेनाको इन्द्रध्वज गण सुरुक्षा गुल्मको अगुवाईमा समुदायमा आधारित बाढी तथा पहिरो सम्बन्धी कृतिम घटना अभ्यास कार्यक्रम मेलम्चीमा गरिएको छ ।
बाढी र पहिरोकोे बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारमा प्रयोग हुने उद्धार सामग्री र जनशक्तिको अद्यावधिक तथा पुनःताजगीका लागि खोज तथा उद्धारकार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ हरेक वर्षझैँ यस वर्ष पनि इन्द्रावती नदीमा बाढी कृत्रिम घटना अभ्यास कार्यक्रम गरिएको हो ।

मेलम्ची नगर स्तरीय विपद् ब्यबस्थापन समिति,नपाल रेडक्रस सोसाइटी,नेपाल स्काउट,सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च ,राइम्स जिल्ला विपद् व्यवस्थापन समिति नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको प्राविधिक सहयोगमा बाढी र पहिरोकोे कृत्रिम घटना अभ्यास सम्पन्न गरिएको हो । घटना अभ्यासमा उद्धार गरी ल्याइएका घाइतेलाई नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचारका टोलीले प्राथिमक उपचार सेवा प्रदान गरी एम्बुलेन्समार्फत नजिकको अस्पतालमा पठाउने कार्य भएको थियो । बाढीको कृत्रिम घटना अभ्यासमा सबै सरोकारवाला निकायको सहभागिता रहेको थियो । घाँस काट्न जाँदा खोला तर्न नसकेका स्थानिय महिला,बाढीले घर सहित बगाएर ल्याएको स्थानिय, पौडी खेलिरहेका एक किशोर लगायतलाई स्थानिय स्रोत र साधनको प्रयोग गरि उद्धार गरिएको थियो । २०७८ असारमा आएको बाढी पछि सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च (सिडिइसिएफ्)ले स्थानिय तहसँग मिलेर विभिन्न कार्यदलहरु बनाएको छ । सोहि कार्यदलमा रहेका हरुले समेत खोज तथा उद्धार,प्राथमिक उपचार लगायत कार्यमा सहभागि भएको पाक्टिकल एक्सनका परियोजना अधिकृत मिनेश गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रममा सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले यस्ता अभ्यासले बाढीका बेला जनशक्ति तथा आवश्यक खोज तथा उद्धारमा सहयोग पुग्ने बताउनुभयो । यस्ता अभ्यासले विपद् प्रतिकार्य गर्न प्रभावकारिता हुनुका साथै बाढी तथा पहिरोको बेला तिनै तहका सरकार बिच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले विपद् प्रतिकार्यको लागि नगरपालिका योजनाका साथ रहेको बताउनुभयो । उहाँले उद्धार सामग्री,बजेट,जनशक्ति र पूर्व तयारीका साथ नगरपालिका योजना बनाएर बसेको बताउनुभयो । उहाँले सुरक्षा निकायसँगै यस्ता अभ्यासहरुमा स्थानियलाई सहभागि गर्दै दक्ष बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ,उपप्रमुख उमा प्रधान,इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष शेभना तामाङ,सहायक प्रमुख जिल्ला अधिकारी भण्डारी,नेपाल प्रहरीका प्रहरी उपरिक्षक सन्तोष खड्का,राष्ट्रिय अनुसन्धान आयोग सिन्धुपाल्चोकका प्रमुख राजन प्रजापति,नेपाली सेना सिन्धुपाल्चोकका प्रमुख सेनानी धर्मेन्द्र भण्डारी, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईँ लगायतको उपस्थिती रहेको थियो ।

