पत्रकारहरुका लागी बालबालिका संवेदनशील सम्बन्धी तालिम चौतारामा सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक

चौतारा ।
“विद्यालयस्तरमा लैङ्गिक हिंसा तथा बालबालिकासम्बन्धी विषयमा नैतिक पत्रकारिता” विषयक दुई दिने तालिम चौतारामा सम्पन्न भएको छ । टुकी एसोसिएसन सुनकोशीको प्राविधिक सहयोग र नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आयोजनामा हिजो र आज भएको तालिममा पत्रकारहरुलाई विद्यालयस्तरमा हुने लैङ्गिक हिंसा सम्बन्धी मुद्दाहरूलाई संवेदनशीलतापूर्वक प्रस्तुत गर्ने, बालबालिकाको अधिकार र सुरक्षालाई प्राथमिकता दिने तथा समाचार संकलन र प्रकाशनमा नैतिकता अपनाउने बारेमा प्रशिक्षण दिइएको थियो ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा तालिमका विज्ञ धर्मेन्द्र झाले सहभागी पत्रकारलाई समाचार तयार गर्दा पीडित बालबालिकाको सुरक्षा, मर्यादा र गोपनीयता जोगाउन विशेष ध्यान दिन आग्रह गर्दै तथ्यमा आधारित र संवेदनशील समाचार नै समाजलाई सही दिशामा लैजाने बताउनुभयो ।

आयोजक नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दंगालले यस प्रकारका तालिमले स्थानीय पत्रकारलाई दक्ष र उत्तरदायी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै टुकी एसोसिएसन सुनकोशी लाई यस प्रकारको महत्त्वपूर्ण कार्यक्रममा सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

तालिममा जिल्लाका ३५ भन्दा बढी पत्रकारहरुको सहभागीता रहेको थियो ।

Leave a Reply