रेडियो मिसन ।
इन्द्रावती गाउँपालिका वडा नम्बर ७ ले वडा भित्रका किसानहरूलाई विभिन्न कृषि सामग्रीहरू वितरण गरेको छ। वडा कार्यालयमा एक कार्यक्रमका बीच मागमा आधारित उक्त कृषि सामग्रीहरू वितरण गरिएको हो।
जसमा २६ वटा मिनी टेलर, १० वटा कम्बाइन मिल, ९ वटा स्प्रे पम्प र १४ वटा टनेल प्लास्टिक गरी १४ लाख बराबरको सामग्रीहरू ५० प्रतिशत अनुदानमा वितरण गरेको वडाध्यक्ष रविन्द्रकुमार खातीले जानकारी दिनुभयो।
आर्थिक वर्ष २०८१/८२ को वडाको स्वीकृत कार्यक्रम अन्तर्गत माग भए अनुसार उक्त कृषि सामग्रीहरू वितरण गरिएको हो।
कार्यक्रमको अवसरमा वडाध्यक्ष खातीले वितरित सामग्रीहरू अधिकतम उपयोग गरी व्यावसायिक हुने प्रयोगमा ल्याउनुका साथै सही सदुपयोग गरी छरछिमेकमा समेत फाइदा हुने तरिकाले प्रयोग गर्न सुझाव दिनुभयो।
साथै वडामा रहेका किसानहरूलाई कार्यमा सहजता थप्न र प्रविधिमा आधारित कृषिलाई प्रोत्साहन गर्न उक्त सामग्रीहरू वितरण गरिएको उहाँले जानकारी दिनुभयो।
कार्यक्रमको अवसरमा वडा अध्यक्ष रविन्द्रकुमार खातीको साथै वडा सदस्यहरू टोमप्रसाद भट्टराई, तीर्थबहादुर तामाङ, गाउँपालिका कृषि शाखा प्रमुख रविनाथ कोजु, समाजसेवी रमेश दंगाल लगायत कृषकहरूको सहभागिता रहेको थियो ।




