सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि १ अर्ब ७६ करोड ८४ लाख ५९ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आइतबार बसेको नगरसभामा नगर उपप्रमुख उमा प्रधानद्वारा कार्यक्रम, आयाेजना तथा क्रियाकलापमा २१ कराेड ६८ लाख, वित्तिय हस्तान्तरण र पुजिगत तर्फ १७ कराेड ५७ लाख, नेपाल सरकार सशर्त अनुदान नगद अनुदान चालू संघिय तर्फ ४० कराेड, नेपाल सरकार सशर्त अनुदान नगद अनुदान पुँजीगत संघिय तर्फ १३ लाख, प्रदेश सरकार सशर्त अनुदान नगद १ कराेड ४९ लाख, प्रदेश सरकार सशर्त अनुदान पुँजीगत नगद १ कराेड ६ लाख ६० हजार, विभिन्न काेषहरू तर्फ ३ कराेड, पुँजीगत खर्च अनिवार्य दायित्व९१ कराेड ५७ लाख ८८ हजार गरि कुल १ अर्ब ७६ करोड ८४ लाख ५९ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरिएकाे हाे ।
नगरपालिकाले नगरभित्रका मुख्य सडक र वडा कार्यालय जाेड्ने सडक, नगरपालिकाकाे सभाहल निर्माण, स्वास्थ्य संस्थाका भवनहरू, बहुआयामिक सामुदायिक भवन, शिक्षा युवा तथा खेलकुद, फाेहाेरमैला ब्यबस्थापन, पर्यटन प्रवर्द्वन, लगु उद्यम, राजश्व परिचालन तथा बजार अनुगमन लगायतका क्षेत्रलाई समेटेर नगरसभाकाे १६ औँ अधिवेशनमा विनियाेजन प्रस्ताव पेश गरिएकाे थियाे ।
नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ देखि हाटबजारकाे माध्यमबाट स्थानिय उत्पादनकाे प्रवद्धन र बजारीकरण गर्ने, कृषकहरूकाे क्षमता विकासका लागि कृषककै खेतबारीमा गएर तालिम तथा प्राविधिक सेवा उपलब्ध गराउने, मेलम्ची नगरपालिका वडा नम्बर १३ लगाएतका अन्य वडामा रहेका गुठि जग्गाको दिगाे व्यावस्थापनका लागि गुठि संस्थान, प्रदेश सरकार एवं संघिय सरकारसंग आवश्यक समन्वय गर्ने, मेलम्ची तथा ईन्द्रावती नदिमा आएकाे भिषण बाढिबाट क्षति भएका सार्वजनिक तथा निजि संरचनाहरूकाे पुनर्निर्माण गर्न निरन्तरता दिने, फाेहाेरमैलाकाे दिगाे तथा वातावरणमैत्रि व्यावस्थापनकाे लागि उपयुक्त स्थान पहिचान गरि फाेहाेरमैला व्यावस्थापन गर्ने, नगरपालिका भित्रका मुख्य बजार क्षेत्रहरूमा आवश्यकता र मागका आधारमा सार्वजनिक शाैचालय निर्माण गर्ने लगायतका कार्यक्रमहरु बजेटमा समावेश गरेको छ ।