नवलपुर । समृद्ध र विकसित ईन्द्रावती गाउँपालिकाको लक्ष्यतर्फ सघन रुपमा अघि बढिरहेका बेला, गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै चालु आर्थिक वर्षभित्र पालिकाभित्रका सबै मुख्य सडकहरूमा कालोपत्रे कार्य अघि बढाएको छ।
त्यही क्रममा, वडा नं. ८ अन्तर्गतको गहते शाखा सडकमा कालोपत्रे कार्य सुरु गरिएको छ। सो सडक कालोपत्रे आयोजनाको औपचारिक उद्घाटन गाउँपालिका अध्यक्ष श्री झम्क नेपाल ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
पालिकाले गाउँपालिकाको योजना र बागमती प्रदेशको समन्वयमा स्वामित्वमा रहेका प्रमुख सडकहरूको स्तरोन्नति गर्दै स्थानीय पूर्वाधारलाई व्यवस्थित र सुलभ बनाउने अभियानलाई तीव्रता दिएको छ।
पालिकाका अध्यक्ष नेपालले उद्घाटन समारोहमा बोल्दै भन्नुभयो, “विकासमा हामी गफ होइन, काममा विश्वास गर्छौं। हरेक वडामा समान रूपमा विकास पुगोस् भन्ने हाम्रो चाहना हो। गहते शाखा सडकको कालोपत्रेले यहाँका बासिन्दालाई वर्षा र हिउँद दुबै मौसममा सहज यातायात सुनिश्चित गर्नेछ।”
स्थानीय बासिन्दाहरूले विकासको यो गति र प्राथमिकताप्रति प्रशंसा गर्दै सडकको स्तरोन्नतिले सामाजिक तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।