रेडियो मिसन, मेलम्ची ।
सिन्धुपाल्चोकको पश्चिमी भेगमा चल्ने आमा याङ्ग्री यातायात प्रालि , सिन्धु हेलम्बु यातायात प्रालि र सिन्धु हेलम्बु प्रालिले दिने सेवा प्रति सेवाग्राहीले असन्तुष्टि जनाएका छन् ।
मेलम्ची, हेलम्बु, इन्द्रावती, पाँचपोखरी लगायतका क्षेत्रमा चल्ने सार्वजनिक यातायातका साधनहरुले पछिल्लो समय मनलाग्दी भाडा लिने गरेको भन्दै गुनासो सुनिन थालेको छ । गन्तव्य स्थान सम्म तोकिएको समयमै नपुर्याउने, सुपर भन्ने तर लोकल यात्रु चढाउने, सिट क्षमता भन्दा बढि यात्रु बोक्ने र भाडा बढि लिने गरेको मेलम्ची ९ ज्यामिरेका ठाकुरनाथ कँईकेलले गुनासो गर्नुभयो ।
यातायातका साधनहरुमा भाडा शुचि नराख्ने र छोटो दूरीमा समेत बढी भाडा लिन थालेको मेलम्ची ६ तालामाराङका दिपक देउजाले बताउनुभयो । उहाँले मेलम्ची देखि तालामाराङ सम्मको ६ किलोमिटर रुटको भाडा ६० रुपैयाँ भएको प्रति समेत सामाजिक सञ्जाल मार्फत आपत्ति जनाउनुभएको छ ।
यो विषयमा आमा याङ्ग्री यातायात प्रालिका अध्यक्ष कान्छाराम श्रेष्ठसँग बुझ्दा गाउँ गाउँमा सुपर गाडी सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले निश्चित भाडा तोकेर स्थानीय तह, प्रहरी कार्यालय लगायत सम्बन्धित निकायमा समेत जानकारी गराइएको बताउनुभयो । उहाँले भन्नुभयो “हामिले अहिले परीक्षणका लागि गाउँ गाउँमा सुपर गाडी चलाएका छौं, बसमा भाडा शुचि पनि अनिवार्य गरेका छौं, यसको जानकारी सम्बन्धित निकायलाई पनि गराएका छौं” ।
माघ १ गते देखि परीक्षणको लागि सुपर गाडी छोडेको जानकारी दिदै तामाङले अब छिट्टै छलफल गरेर एउटा निष्कर्षमा पुग्ने बताउनुभयो । तोकिएको भन्दा धेरै भाडा नतिर्न र कुनै समस्या भएमा समितिमा जानकारी गराउन समेत समितिले आग्रह गरेको छ ।