रेडियो मिसन । पाँचपोखरी थाङपाल-६ स्थित श्री थाङपालधाप माध्यमिक विद्यालयमा विद्यालय स्तरीय अन्तर सदनात्मक सामूहिक नृत्य प्रतियोगिता २०८२ सम्पन्न भएको छ। “शारीरिक, मानसिक र सामाजिक विकासको मुल आधार – अतिरिक्त क्रीयाकलाप” भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रमको अवसरमा जन्मोत्सव दानबाट २२ जना जेहेन्दार तथा आर्थिक रुपमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ। जन्मदिनमा चकलेट वा अन्य फजुल खर्च हटाएर विद्यालयमा दान गर्ने संस्कारको थालनी गरिएको छ। यो संस्कार विद्यालयका शिक्षक नविन श्रेष्ठले मेलम्ची–७ स्थित ज्योति भञ्ज्याङ आधारभूत विद्यालयबाट सुरु गरेका थिए भने अहिले थाङपालधाप माविमा पनि निरन्तरता दिइएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुदे वाइबाले जानकारी दिनुभयो।
प्रधानाध्यापक आत्मराम दंगालका अनुसार कार्यक्रमको मुख्य उद्देश्य शिक्षक, विद्यार्थी तथा विद्यालयसँग सम्बन्धित व्यक्तिहरूले जन्मोत्सवको अवसरमा दान बाकसमा रकम जम्मा गर्नु, सो रकमबाट अति जेहेन्दार, अनुशासित र आर्थिक रूपमा कमजोर विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नु तथा विद्यालयमा नियमित उपस्थितिको वातावरण बनाउनु हो। उहाँले यस अभियानले सहयोग र समुहिकताको भावना समेत विकास गराउने विश्वास व्यक्त गर्नुभयो।
विद्यालयका अनुसार यो बर्ष जन्मोत्सव दान बाकसमा रु. ४१,३२४ संकलन भएको छ। संकलित रकममध्येबाट २२ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो भने बाँकी रकम जन्मोत्सव कोषमा राखिएको जानकारी प्रधानाध्यापक दंगालले दिनुभयो।
आजकै दिन जन्मदिन नभए पनि पूर्व विद्यार्थी तथा अभिभावकहरू रामजी धिताल, निशान्त धिताल, भुवलसिं चापागाईं, इश्वर धिताल, विकास बस्नेत र स्वयं प्रअ दंगालले पनि दान बाकसमा सहयोग गरेको विद्यालयले जनाएको छ।
यस कार्यक्रम जिल्लाका धेरै विद्यालयले अनुसरण गरेका छन ।
सामूहिक नृत्य प्रतियोगितामा सिनियर तहमा एलो हाउस पहिलो, रेड हाउस दोस्रो र ब्लु हाउस तेस्रो, तथा जुनियर तहमा पनि एलो हाउस पहिलो, रेड दोस्रो र ब्लु तेस्रो स्थानमा रहेका छन्। कार्यक्रमका निर्णायक शिक्षक शेरबहादुर तामाङ,श्रीजना श्रेष्ठ र अम्बिका भट्टराई रहनुभएको थियो ।कार्यक्रम संचालक शिक्षक राजन काफ्लेले गर्नुभएको थियो ।
आजको कार्यक्रमकै अवसरमा बिद्यालयका शिक्षक म्लाङ्गाइ बोम्जनले थालनी गर्नुभएको Initial Learning from Morning Assembly अन्तर्गत बैशाख र जेठ महिनाको एकमुष्ट कक्षा ८ ९ र १० का बेस्ट पिटी अफ द मन्थ तथा बेस्ट स्पिच र वेस्ट क्विज २/२ जनालाई पनि पुरष्कृट गरिएको शिक्षक नवीन श्रेष्ठले जानकारी दिनुभयो ।
बिद्यालयहरुमा यस्ता प्रकारको कार्यक्रम निकै प्रभावकारी हुने देखिएको बताउँदै यसलाई निरन्तरता दिन गाउँपालिका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेल समाजसेवी जनकलाल श्रेष्ठ यस वडाका वडा अध्यक्ष लगायतले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ। साथै कार्यक्रममा पुरस्कार बितरणको ब्यस्थापन बिद्यालयका प्राबी इन्चार्ज केशव गौतमले गर्नुभएको बिद्यालयले जनाएको छ ।
सो अवसरमा कार्यक्रम सुरुवात गर्ने शिक्षक नविन श्रेष्ठलाई सम्मान समेत गरिएको शिक्षक प्रेमकुमार धितालले जानकारी दिनुभयो ।