नवलपुर ।
इन्द्रावती गाउँपालिका वडा नम्बर पाँच ऐसेलुखर्कमा तीन दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । रेडियो मिसन १०५.३ मेगाहर्जको आयोजना र इन्द्रावती गाउँपालिकाको सहयोगमा सुरु भएको तालिमको इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनहरि बरालले आज उद्घाटन गर्नुभएको हो।
तालिमको उद्घाटन गर्दै प्रमुख प्रशासकीय अधिकृत बरालले तालिममा सक्रिय सहभागिता जनाई सिकेका कुरालाई व्यवहारमा लागू गरी गाउँपालिकाको लगानीलाई उपलब्धिमूलक बनाउन सबैलाई आग्रह गर्नुभयो। राज्यको चौथो अङ्गको रूपमा रहेको पत्रकारितालाई सबैले बुझेर गर्न सकेमा यसबाट समाज र राज्यलाई नै फाइदा पुग्ने उहाँको भनाइ थियो। साथै विद्यार्थीहरूमा पनि पत्रकारीताको ज्ञान हुन आवश्यक रहेकोले यो तालिम महत्त्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति रेडियो मिसनका अध्यक्ष सन्तोष सिग्देलले यस तालिम बाट सहभागीहरूलाई पत्रकारिता सम्बन्धी सामान्य ज्ञान दिने र भबिस्यमा यस पेशामा आकर्षित गर्नु यो तालिमको उद्देश्य रहेको बताउनुभयो । रेडियोले विगतमा पनि यस्ता तालिमहरू सञ्चालन गरेको र उक्त समयका सहभागीहरूले निरन्तरता दिन नसकेको बताउँदै अहिलेका सहभागीहरुले सक्रियताका साथ तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न तथा पत्रकारिता क्षेत्रमै काम गर्न आह्वान गर्नुभयो।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनहरि बराल, लेखा शाखा प्रमुख भास्कर पन्त र सूचना प्रविधि शाखाका प्रमुख सन्तोष सापकोटा लगायतको उपस्थिति रहेको थियो।
पत्रकार ज्ञानेन्द्र तिमल्सिनाले सहजीकरण गर्नुभएको आजको तालिममा पत्रकार भनेको के हो ? पत्रकारिता भनेको के हो ? सञ्चारको फाइदाहरू, समाचारको बनोट, समाचारका तत्वहरू, समाचार लेखनकासूत्र, समाचार लेख्ने शैली, समाचारको प्रकार, लगायतका विषयमा प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिनुभएको थियो ।
अषाढ ९ गतेसम्म सञ्चालन हुने तालिममा इन्द्रावती गाउँपालिका भित्रका १५ जनाको सहभागिता रहेको छ ।








