“साना किसानको समृद्धि :कृषिको रूपान्तरण र उद्यमशीलताको विकास” भन्ने मुल नाराका साथ संस्था सुदृढीकरण सम्बन्धि साना किसान तथा अन्य कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक समिति,लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरुको लागि आम प्रशिक्षण कार्यक्रम आज मेलम्चीमा सम्पन्न भएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र जिल्ला सहकारी संघ लिमिटेडले एक दिने कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा जिल्लाका सहकारीका प्रमुख, प्रतिनिधिको उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा जिल्ला कृषि सहकारी संघ लि. का अध्यक्ष मित्रलाल चौलागाईंले प्रशिक्षणको उद्देश्य प्रस्ट पार्दै सहकारीहरूलाई पेशागत, आर्थिक र व्यवस्थापकीय रुपमा सबल बनाउनु नै कार्यक्रमको लक्ष्य भएको बताउनुभयो।
कार्यक्रममा सिन्धुपाल्चोक जिल्ला कृषि संघ को सचीव रामसरण गिरी र केशव राज पाैडेलले स्वागत मन्तव्य राख्नु भएको थियो । सिन्धुपाल्चोक जिल्ला भरिको प्रगति प्रतिवेदन कृष्णप्रसाद सुवेदीले प्रस्तुत गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथी तथा प्रशिक्षक राष्ट्रिय सहकारी संघका केन्द्रीय उपाध्यक्ष खेमबहादुर पाठकले सहकारीको उद्देश्य, प्रभावकारिता र वर्तमान चुनौतीहरूको सन्दर्भमा सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो । उहाँले सहकारी संस्था केवल आर्थिक कारोबार गर्ने निकाय नभई समाजमा समानता, सहभागिता र आर्थिक समावेशीताका माध्यम भएको सहकारी कस्तो हुन्छ ,कसरी चलाईन्छ भन्ने कुरा स्पष्ट पार्नुभयो।
कार्यक्रममा विशेष अतिथि पुर्वराज्य मन्त्री इन्द्रमाया गुरुङले सहकारी आन्दोलनको इतिहास र यसले साना किसानको जीवनमा ल्याएको परिवर्तनबारे मन्तव्य राख्नुभयो। उहाँले स्थानीय उत्पादन र कृषि व्यवसायमा आधारित सहकारी संरचनाले ग्रामीण अर्थतन्त्र सबल बनाउन सक्ने विश्वास व्यक्त गर्नुभयो।
प्रशिक्षणमा सहकारीहरूलाई दिगो उद्यमतर्फ उन्मुख गराउने दृष्टिकोण, संस्थागत सुधार, लेखापरीक्षणको पारदर्शिता, तथा कृषिको व्यावसायीकरणमा सहकारीको भूमिका जस्ता विषयमा समूहगत छलफल र सहभागितामूलक प्रस्तुति गरिएको थियो।
कार्यक्रमको समापनमा सहभागी संस्थाका प्रतिनिधिहरूले यस्ता कार्यक्रमले आफ्नो ज्ञान र नेतृत्व क्षमतामा सकारात्मक प्रभाव पारेको प्रतिक्रिया व्यक्त गरेका थिए।
जिल्ला कृषि सहकारी संघ लि. सिन्धुपाल्चोक र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड काठमाडौं शाखा कार्यालयको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जिल्लाभरिका साना किसान तथा अन्य कृषि सहकारी संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन गाैतम के सीले गर्नु भएको थियो ।

