हेलम्बु ।
हेलम्बु गाउँपालिकालाई “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना” घोषणा गरिएको छ। एक औपचारिक समारोहका बीच गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाको अध्यक्षतामा घोषणा गरिएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष शेर्पाले हेलम्बु गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्न सहयोग गर्ने सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा पुर्याएका उपलब्धिहरूको चर्चा गर्दै स्वास्थ्य पूर्वाधार, जनचेतना अभिवृद्धि, तथा नियमित खोप कार्यक्रम सञ्चालनमा पालिकाको सक्रियता उल्लेखनीय रहेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत राजुभाइ श्रेष्ठले स्थानीय तहले आफ्नो दायित्व निर्वाह गर्दै जनस्वास्थ्य प्रवर्द्धनमा देखाएको प्रतिबद्धता सराहनीय रहेको बताउनुभयो । उहाँले यस उपलब्धिले गाउँपालिकाको समग्र स्वास्थ्य सेवा प्रणालीलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाँइले हेलम्बुको यो उपलब्धि जिल्लाका अन्य पालिकाहरूका लागि प्रेरणाको स्रोत हुने बताउनुभयो । उहाँले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी, स्वयंसेवक, तथा समुदायको निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष दावा ग्याल्जेन ह्योल्मो, वडा नम्बर ७ का अध्यक्ष निलबहादुर खड्का, सामाजिक विकास समितिका संयोजक छिरिङ ह्योल्मो लगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वक्ताहरुले पूर्ण खोप सुनिश्चितता हासिल गर्नु गाउँपालिकाका लागि ठूलो उपलब्धि भएको बताउँदै यसको निरन्तरताका लागि सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। साथै, समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभयो ।
घोषणा कार्यक्रममा , वडा नम्बर २ का अध्यक्ष मिङमार ह्योल्मो, पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीयबासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
स्थानीय तहमा खोप अभियानलाई सशक्त बनाउँदै हेलम्बुले पुर्याएको योगदान अन्य पालिकाका लागि पनि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरिएको छ ।

