नवलपुर ।
भोली (शुक्रबार) देखी हुने इन्द्रावती गाउँपालिका स्तरीय चौथो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता सञ्चालनको लागि छलफल गर्न गाउँपालिमा सर्वपक्षीय बैठक बसेको छ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले राखिएको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकमा यस प्रतियोगितालाई विवादरहित, अनुशासित र मर्यादित तरिकाले सम्पन्न गर्ने कुरामा बिशेष जोड दिएको छ । विगतमा भएका विभिन्न घटनाहरूलाई मध्यनजर गर्दै केही नियमहरू कडाईका साथ लागू गर्ने गरी बैठकमा निर्णयहरु भएका छन् ।
प्रतियोगिता सञ्चालन समितिका संयोजक, गाउँपालिका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्यको सभापतित्वमा सम्पन्न बैठकमा खेलाडी अनुशासन, प्रतियोगिता सञ्चालनका लागि पालिकामा रहेका विभिन्न संघसंस्था लगायत सबैमा सहयोगको आह्वान, र स्वयंसेवक व्यवस्थापन तथा खेल तालिका निर्माण लगायतका विभिन्न विषयमा छलफल भएको छ ।
प्रतियोगितामा खेलाको दौरानमा रेफ्रीको निर्णय नै अन्तिम हुने र अनुशासन बिपरित कार्य गर्ने टिम तथा खेलाडीलाई गाउँपालिकाबाट सञ्चालन हुने तथा गाउँपालिकाबाट सहभागी गराइने जुनसुकै खेलमा एक वर्षका लागि प्रतिबन्ध लगाइने निर्णय गरिएको छ । साथै खेल समापन भइसकेपछि हुने घटनामा आयोजकको निर्णय नै अन्तिम हुने पनि निर्णय सर्वसम्मतिले गरेको छ ।
बैठकका सभापति तथा खेल सञ्चालन समितिका संयोजक शशीनाथ आचार्यले प्रतियोगितामा एन्फाको प्राबिधिक सहयोग रहने र सबैमा राम्रो सन्देश जाने गरी खेल सम्पन्न गर्नका लागि सबैको सहयोग आवश्यक पर्ने भएकोले यसमा ध्यान दिनुपर्ने बताउनुभयो । साथै आगामी प्रतियोगिताहरु गाउँपालिका स्तरीय खेलकुद बिकास समिती गठन गरी सञ्चालन गरिने पनि उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष झम्क नेपालले आज भएको निर्णयलाई ब्यवहारमा कडाइका साथ लागू गर्न आग्रह गर्नुभयो । साथै आगामी आर्थिक वर्षको नीति कार्यक्रमबाट बजेट ब्यवस्थापन गरि खेल जगतमा पालिकाले जिल्लामै प्रतिस्पर्धा गर्न सक्ने गरि अघि बढ्ने पनि बताउनुभयो ।
बैठकमा गाउँपालिका उपाध्यक्ष शोभाना तामाङ, प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलाल, वडा नम्बर ८ का वडा अध्यक्ष दिल कुमार श्रेष्ठ, वडा नम्बर ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङ, वडा नम्बर ३ का अध्यक्ष भीमसेन थापा, वडा नम्बर ७ का अध्यक्ष रविन्द्र कुमार खाती, कार्यपालिका सदस्यहरू, खेलकुद शाखाका प्रमुख मिन धामी, विभिन्न वडाका वडा सदस्यहरु, विभिन्न वडाबाट प्रतिनिधित्व गरेका टिमका टिम क्याप्टेन, टिम म्यानेजर, टिम कोच, इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मधु खड्का, एन्फा रेफ्री रुपेश भण्डारी, पत्रकार, खेलप्रेमी व्यक्तिहरू लगायतको उपस्थिति रहेको थियो ।
गाउँपालिकाको आयोजना र जिल्ला फुटबल संघको प्राबिधिक सहयोगमा इन्द्रावती रंगशाला ऐसेलुखर्कमा हुने प्रतियोगिताको बिजेता टोलीले एक लाख नगद सहित अध्यक्ष कप प्राप्त गर्नेछ । त्यस्तै उपबिजेताले ६० हजार र तेस्रो स्थान हाँसिल गर्नेले ४० हजार नगद पाउने गाउँपालिकाले जनाएको छ ।




