क्यौरानी ।
जलवाई देवी माध्यामिक बिद्यालय मेलम्ची ८ ले “विद्यालय क्षेत्रमा मदिरा एवं सूर्तीजन्य पदार्थ बिक्री वितरण नियन्त्रण” सम्बन्धि सचेतना मुलक कार्यक्रम गरेको छ । मेलम्ची नगरपालिका ८ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा वडा बाल संजाल द्वारा आयोजना गरिएको कार्यक्रममा वडा कार्यवहाक अध्यक्ष इन्द्रबहादुर गिरीले मापदण्ड भित्र परेका ब्यवसायीहरुलाई यसबारे जानकारी गराएको र यसको ख्याल गरिदिन आग्रह गर्नुभयो ।

बिगतमा पनि बिद्यालयमा यस्ता कार्यक्रम भए पनि यसलाई कार्यन्वयन गर्न नसकेको र अब भने पूर्ण कार्यन्वयन गर्दै अघिबढ्नपर्ने वडा सदस्य मंगले तामाङले बताउनुभयो ।

यसक्रममा बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष जल बहादुर दोङले बालबालिकाले बिद्यालयबाट नै सबै कुराहरु सिक्न सक्ने भएकोले यो कुरा बिद्यार्थीहरु अफूले बुझ्दै अभिभावकहरुलाई पनि बुझाउनपर्ने बताउनुभयो । मद्यपान तथा सुर्तिजन्य पदार्थले हानी बाहेक फाइदा केही नगर्ने बताउँदै बिद्यार्थीहरुलाई यसको असबाट टाढ राख्ने प्रयासको लागी महत्पपूर्ण कार्यक्रम भएकोले यसको कार्यन्वयनमा सबैले सहयोगले मात्रै सम्भव हुने उहाँको भनाई थियो ।

वडा सचिव बद्री ज्ञवालीको सहजीकरण गर्नुभएको कार्यक्रममा उहाँले मदिरा एवं सूर्तीजन्य पदार्थको सेवनले गर्ने असरहरुको बारेमा जानकारी दिनुभएको थियो । यसको सेवनले ब्यक्तिलाई मात्रै नभई समुदाय तथा समाजमा नै असर पार्ने भएकोले यसको प्रयोगमा न्युनिकरण गर्दै भबिष्यमा नियन्त्रण गर्दै जानुपर्ने उहाँको भनाई थियो । यसका लागी बिद्यालय बिद्यार्थी शिक्षक तथा समुदायले निर्वाह गर्नुपर्ने भुमिकाको बारेमा पनि उहाँले प्रष्ट पार्नुभएको थियो । मदिरा एवं सूर्तीजन्य पदार्थको सेवनले शारिरीक मानसिक तथा सामाजिक रुपमा पार्ने असरहरुको बारेमा समेत जानकारी दिनुभएको थियो । निर्देशिका अनुसार विद्यालय क्षेत्रभन्दा करिब १०० मिटरको दूरी भित्र सुर्ती र मदिराजन्य पदार्थ बिक्री वितरण गर्न पाईँदैन ।

विद्यालयका शिक्षक सुवास गिरीले यो निकै महत्वपूर्ण अभियान भएको बताउँदै यस्ता कार्यक्रमहरू विगतमा पनि भएका र जुन अभियान र नारामा मात्रै सीमित भएको ले अब भने यसलाई सबैले अपनत्व लिँदै कार्यान्वयन तर्फ अघि बढ्नुपर्ने बताउनुभयो। साथै व्यवसायीहरूले यस कुराको व्यवास्था गरी कार्यान्वयन नगरेमा, नगरेको पाइएमा बालसञ्जालका सबै मिलेर आवाज उठाउनु पर्ने र यो सम्भव नभएमा सम्बन्धित निकायमा जानकारी गराई यस्तै कार्यक्रम आयोजना गरी त्यसको समाधानतर्फ अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रमका समापन गर्दै सभापति बालसञ्जालका अध्यक्ष रितिमा तामाङले आज जे जति कुराहरूमा छलफल भयो र जति कुराहरू आफूले महसुस गरियो त्यो सबैले पालना गर्न सकेन यो अभियान सफल हुने र यसमा सबैले साथ दिने अपेक्षा गर्नुभयो ।
वडा बाल सञ्जालका अध्यक्ष रितिमा तामाङको सभापतित्वमा भएको कार्यक्रममा वडाका कार्यवाहाका अध्यक्ष इन्द्रबहादुर गिरी, सदस्यहरु मंगले तामाङ, सिता ज्योती, सुकुमाया सार्की, बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष जल बहादुर दोङ, बाल सञ्जालका पदाधिकारीहरु, शिक्षक बिद्यार्थी अभिभावकहरु लगायतको उपस्थिती रहेको थियो ।



