मेलम्ची ।
“स्थानीय तहको विवाद, स्थानीय तहमै निरूपण, हाम्रो अभियान” भन्ने मुल नाराका साथ मेलम्ची नगरपालिकामा मेलमिलापकर्ताहरूलाई लक्षित गरी न्यायिक पहुँचसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक उमा प्रधानले मेलमिलापलाई सामाजिक अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै मेलमिलापकर्तालाई सक्रिय र जनसेवामुखी बन्न आग्रह गर्नुभयो।

उपप्रमुख प्रधानले मेलम्ची नगरपालिकामा आफू कार्यरत रहँदा नमुना न्यायिक समिति, उत्कृष्ट मेलमिलाप केन्द्र र उत्कृष्ट मेलमिलापकर्ता निर्माणमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले मेलमिलाप प्रक्रियालाई प्रभावकारी बनाउन सबैको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै स्थानीय विवादहरूलाई स्थानीय तहमै सहज, शीघ्र र निष्पक्ष रूपमा समाधान गर्न मेलमिलापकर्ताहरूको भूमिकालाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्रराज खरेल,प्राकृतिक स्राेत द्वन्द्व रूपान्तर केन्द्रका प्रशिक्षक नेत्र धिताल , नगरका कर्मचारी न्यायिक समितिका पदाधिकारी, कर्मचारी, सूचिकृत मेलमिलापकर्ताहरूकाे उपस्थिति रहेको थियो।
