मेलम्चीको इन्द्रावती बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नव–निर्वाचित समितिको प्रमाणपत्र वितरण, बधाई तथा शुभकामना कार्यक्रम गरिएको छ । क्याम्पसमा निर्विरोध निर्वाचित स्ववियु समितिलाई शुक्रबार उक्त कार्यक्रम गरिएको हो ।
स्ववियु पदाधिकारीलाई निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको छ भने क्याम्पस प्रमुख राधाकृष्ण श्रेष्ठले पदाधिकारीलाई शपथग्रहण गराउनुभएको थियो । पदाधिकारीलाई प्रमाणपत्र वितरण र सपथग्रहण गराएपछि स्ववियुको नयाँ समितिको पदस्थापन भएको निर्वाचन समिति संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
इन्द्रावती बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अनेरास्ववियु , अनेरास्ववियु (क्रान्तिकारी) र राप्रविसंघ चार विद्यार्थी सङ्गठनबिचको सहमतिमा स्ववियु निर्विरोध चयन भएको हो । विद्यार्थी सङ्गठनबिचको सहमति अनुसार अनेरास्ववियुका गोकुल खड्का अध्यक्ष रहेको स्ववियु समिति चयन भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले सकारात्मक कुराहरुको लागि विद्यार्थी लाग्नु पर्नेमा जोडदिनुभयो । उहाँले मेलम्ची नगरपालिका भित्र रहेका दुबै क्याम्पसमा सर्बसहमत स्वबियु चयन गरिएको बताउँदै सबै मिलेर मात्र गुणस्तरीय शिक्षा प्राप्तिको लक्ष्य प्राप्त गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा एमाले मेलम्ची अध्यक्ष उपेन्द्र तामाङ, क्याम्पस संन्चालन समिति अध्यक्ष सिपि दुलाल, सहायक क्याम्पस प्रमुख यादव दुलाल लगायतले शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा मेलम्ची -११ का अध्यक्ष चन्द्रबहादुर तामाङ, क्याम्पस संचालक समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
अध्यक्षमा खड्का सँगै नेविसंघकी गिता गिरी उपाध्यक्ष ,सचिव एलिना अधिकारी,कोषाध्यक्ष चण्डिका नेपाली निर्वाचित हुनुभएको थियो भने सहसचिव अखिल क्रान्तिकारीले पाएको थियो । सहसचिव अरुणा पाण्डे, त्यस्तै सदस्यहरुमा अनेरास्ववियूबाट राजिव दुलाल,अरुणा घिमिरे,शान्ति तामाङ,प्रदिप दुलाल,नेविसघं बाट शुभद्रा खड्का,कौशिला नेपाली,धनकुमारी सुनार त्यस्तै अखिल क्रान्तिकारीबाट गणेश परियार र अर्जुन केसी निर्वाचित हुनुभएको थियो भने राप्रविसबाट राजेश महरा सदस्यमा निर्वाचित हुनुभएको थियो ।