सिन्धु स्पाइडरको अनुकरणीय काम, ब्लड क्यान्सर पिडित अमिरलाई साँढे पाँच लाख भन्दा बढी सहयोग

* # समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

ब्लड क्यान्सर पीडित अमिर तामाङलाई सिन्धु स्पाइडर युवा क्लबको पहलमा साँढे पाँच लाख भन्दा बढी सहयोग जुटाएर वितरण गरिएको छ।

क्यान्सर पीडित मेलम्ची नगरपालिका ८ लाभगाउँ निवासी सुन्दर तामाङका कान्छा छोरा सात वर्षीय अमिर तामाङको उपचारका लागि सिन्धु स्पाइडर युवा क्लब ले पहल गरी पाँच लाख ६१ हजार ५ रुपैयाँ रकम सङ्कलन गरी आज पीडित लाई हस्तान्तरण गरिएको हो।

आज बागमती प्रदेशका सांसद तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव कृष्णकुमार तामाङ र वडा अध्यक्ष जितबहादुर तामाङ काठमाडौँको डाँछी स्थित पीडित बालक र परिवार बस्दै आउनुभएको स्थानमै उपस्थित भएर उक्त रकम हस्तान्तरण गरिएको क्लबका अध्यक्ष अरुण तामाङले जानकारी दिनुभयो ।

देश तथा विदेशमा रहनुभएका सहयोगी भावना भएका व्यक्तिहरू तथा स्थानीय युवाहरूबाट प्राप्त भएको उक्त रकम ७० हजार पाँच रूपैयाँ नगदै र ४ लाख ९१ हजारको चेक मार्फत आज पीडित बालकका हजुरबुवा सुर्जमान तामाङ, बुवा सुन्दर तामाङ लगायत परिवारका सदस्यहरूको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रमको अवसरमा सांसद तामाङले पीडित बालकको शीघ्र स्वास्थ्य लाभको कामना सहित आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभएको छ। साथै वडा अध्यक्ष तामाङले पनि वडाबाट र व्यक्तिगत तर्फबाट पनि सक्दो सहयोग गर्ने र विभिन्न निकायमा समेत पहल गर्न सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभएको छ।

सहयोग रकम ग्रहण गर्दै पीडितका हजुरबुवा सुर्जमान तामाङले आफ्नै छोरा, भाइ, भतिजा सम्झेर सहयोग गरेकोमा सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै नातीको उपचारका लागि हालसम्म धेरै रकम खर्च भइसकेको र डाक्टरको भनाइ अनुसार यो रकम समेत अझै पर्याप्त नभएकोले थप सहयोगले उपचारमा सहज हुने र अन्य व्यक्तिहरूबाट समेत सहयोगको अपेक्षा गर्नुभएको छ।

सहयोग रकम हस्तान्तरण गर्दै क्लबका अध्यक्ष अरुण तामाङले स्थानीय नागरिकहरूको पीडामा क्लबले विगतदेखि नै काम गर्दै आएको र भविष्यमा पनि यस्ता सामाजिक कार्यमा अघि बढ्ने बताउनुभयो ।

क्लबले विगतमा कोरोनाको समयमा, गाउँमा भएका विभिन्न विपदका घटनाहरूमा र मेलम्ची बाढी पीडित लाई समेत राहत वितरण गरेको थियो ।

Leave a Reply