बाढीप्रभावित क्षेत्रको पुननिर्माणको लागि मेलम्ची नगरपालिकाको मुख्यमन्त्रीसंग आग्रह

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची,

बाढीप्रभावित क्षेत्रको पुननिर्माणको लागि मेलम्ची नगरपालिकाले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामासंग आग्रह गरेको छ ।

मेलम्ची नगरपालिकाद्वारा बिहिवार (आज) आयोजित मेलम्चीको विकास र विपद सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ लगायतका जनप्रतिनिधि तथा मेलम्चीका स्थानियले बाढीपछिको क्षतिग्रस्त मेलम्चीको पुननिर्माणको लागी प्रदेश सरकार समक्ष माग राख्नुभएको हो ।

सो कार्यक्रममा नगरप्रमुख आइतमान तामाङले मेलम्ची दुवाचौरको पक्की पुल बनाउनको लागी अनुमती दिन आग्रह गर्नुभयो । “कि पुल बनाउन अनुमती दिनुस, कि पुल बनाईदिनुस”, प्रमुख तामाङले मुख्यमन्त्री लामा समक्ष भन्नुभयो । कार्यक्रमका सभापति रहनुभएका नगरप्रमुख आइतमान तामाङले नगरको समग्र विकासका लागि सहयोग गर्न मुख्यमन्त्री र मन्त्रीहरुलाई आग्रह गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले मेलम्चीको विकासमा कुनै कञ्जुस्याई नगर्ने बताउनुभएको छ । कार्यक्रममा नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र प्रदेश सरकारका आर्थिक मामिला मन्त्री कुन्दनराज काफ्लेले मेलम्ची क्षेत्रको विकास अपरिहार्य रहेको बताउनुभएको थियो ।

नेपाली कांग्रेस, बागमती प्रदेस संसदीय दलको बैठकमा मेलम्ची –३, स्थित प्रकृति रिसोर्ट जाने क्रममा नगरपालिकामा आउनुभएका मुख्य मन्त्री, मन्त्री र प्रदेशसभा सदस्यहरुसँग नगरले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रमको लागि प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङले समन्वय गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले मेलम्ची क्षेत्रमा बाढीको जोखिम अहिले सम्म कायम रहेको अवगत गराउनुभयो । राजधानीबाट नजिक भएपनि भौतिक बिकासबाट टाढा रहेको उहाँको भनाई थियो । मिश्रले बागमती प्रदेशको साथ सहयोग नगरपालिकाले पाउने विश्वास व्यक्त गर्नुभयो ।

बाढी पश्चात नगरपालिकाका भएको क्षतिको बिबरण सुनाउँदै राजश्व शाखा प्रमुख राजेन्द्र दुलालले बाढी पहिले र अहिलेको अवस्थाको जानकारी दिनुभयो । बाढीबाट फोहोरमैला व्यबस्थापन केन्द्र, सिटि पार्क, चिल्ड्रेन पार्क, बसपार्क लगायतमा क्षति पुगेको जानकारी दिनुभयो । मेलम्चीको २ पक्की पुलमा क्षति संगै समग्रमा ६१ अर्ब बढीको क्षति भएको बताउनुभयो । नगरपालिकाले बाढी पुर्व सुचना प्रणाली राख्नुका साथै बाढीपछि ५०० जनालाई खानपानको ब्यबस्थापन गरेको थियो । विपत व्यवस्थापन कोषबाट नगरले सहयोग गरिरहेको दुलालको भनाई छ ।

मुख्यमन्त्री समक्ष नगरपालिकाका स्थानियले मेलम्ची बाढी पछि प्रदेशले के के गर्याे ? मेलम्ची हेलम्बु सडक खण्ड किन मर्मत भएन । प्रदेश सरकार समक्ष मेलम्ची बाढीपिडितले के के अपेक्षा गर्न सक्छौँ ? जस्ता प्रश्न गरेका थिए । साथै लाभग्राहिले अन्तिम किस्ता पाउने वातावरण बन्नपर्ने उनिहरुको माग थियो ।

साँखु हुँदै मेलम्ची आउने क्रममा मुख्यमन्त्री लामा लगायत नेपाली कांग्रेस संसदिय दलकाे बैठकमा सहभागी हुन आउनुभएका सांसदहरूलाई जनप्रतिनिधि तथा स्थानिय नेता कार्यकर्ताले स्वागत गरेका थिए । बाहुनीपाटी र मेलम्चीमा खादामाला सहित स्वागत गर्दै मेलम्ची नगरपालिका पुराईएकाे थियाे ।

Leave a Reply