मेलम्चीमा विपद् पोर्टल सम्बन्धि २ दिने तालिम सुरु

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

समुदायमा आधारित पहिरो पुर्व सुचना प्रणाली परियोजना अन्तर्गत विपद् पोर्टल सम्बन्धि २ दिने तालिम मेलम्चीमा सुरु भएको छ ।

सामुदायिक विकास तथा संरक्षण मञ्च नेपालको आयोजना र प्राक्टिकल एक्सनको सहयोगमा सुरु भएको तालिमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले विपदको हिसावले यस भेग प्रभावित रहेको बताउँदै यसको न्यूनीकरणका लागि संघ संस्थाको प्रयास सरहानिय रहेको बताउनुभयो । तालिम लिएपछि यसको कार्यान्वयन गर्नुपर्नेमा शेर्पाले जोडदिनुभयो ।बर्षा सुरु भएपछि सडक, बस्ती असुरक्षित हुने बताउँदै स्थानीय सरकारको स्रोत एकदमै कम हुँदा स्थानीय सरकार एक्लैले विपद् व्यवस्थापन गर्न नसक्ने भएकाले संघ , प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोडदिनुभयो ।


सहि तथ्यांकले महत्त्वपूर्ण निर्णय गर्न र काम गर्न सहज हुने उहाँले बताउनुभयो । ।सेमिनार, बैठक मात्र नभै देखिने खालको कार्यक्रम संघ संस्था र सरकारले गर्नुपर्ने उहाँको भनाई छ । यस भेगमा जलवायु अनुसन्धान केन्द्र स्थापना गरेर कार्य गर्न सके विपद् न्यूनीकरण र पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने शेर्पाले बिश्वास व्यक्त गर्नुभयो ।

तालिमको उदेश्यबारे जानकारी गराउदै प्राक्टिकल एक्सनका प्रोजेक्ट म्यानेजर विना खड्काले बिगत ३ बर्ष देखि यस क्षेत्रमा कार्य गरेको बताउदै पहिरो सुचना प्रणाली अन्तर्गत हेलम्बु र पाँचपोखरीमा कार्य गरिरहेको बताउनुभयो । पुर्व सुचना प्रणालीले ज्यान जोगाउन सहज हुने उहाँले बताउनुभयो । संस्थाको सहयोगमा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र संचालन लगायत कार्य गरिएको उहाँले बताउनुभयो । विपद्मा भएको क्षतिको एकिन विवरण नहुदा निर्णय लिन , पुर्व तयारी गर्न गार्हो हुने भएकाले यो तालिम आयोजना गरिएको बताउनुभयो ।

सिडिइसिएफका कार्यबाहक अध्यक्ष इश्वरीप्रसाद अधिकारीले संस्थाले स्थानीय सरकारसंग समन्वय गरेर काम गर्ने बताउनुभयो । डाटा नहुँदा काम गर्न गार्हो हुने भएकाले भरपर्दो तरिकाले तथ्यांक राख्न तालिम आयोजना गरिएको बताउनुभयो ।
संस्थाका डिआर आर फोकल पर्सन इच्छाराम सापकोटाले कार्यक्रमबारे जानकारी दिनुभयो ।

तालिममा मेलम्ची , हेलम्बु , पाँचपोखरी थाङपाल गाउँपालिकाका बिपद फोकल पर्सन , आइटि क्षेत्रका र प्रहरी लगायत विपद्मा कार्यगर्ने सरोकारवालाहरु सहभागी छन ।
तालिमको सहजीकरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डिएसपि लक्ष्मण बस्नेत र सुलक्ष्य रायमाझीले गर्नुहुनेछ ।

Leave a Reply