रेडियो मिसन ।
बालविवाह तथा महिला हिंसा निरूत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षारत चलचित्र ‘जुनाः एक व्यथा’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ । आउँदो माघ २५ गते रिलिज हुने चलचित्र गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको हो। चलचित्रमा जीवन सेञ्चुरीको निर्देशन छ ।
पोस्टरमा चलचित्रका प्रमुख कलाकार अस्मिता ढकाल र कृष्णप्रसाद धिताललाई प्रस्तुत गरिएको छ । विवाहित अस्मिता काखमा सन्तान बोकेर निराश भावमा कतै टोलाएकी छन् ।
त्यस्तै कलाकार कृष्ण भने कोहीप्रति रिस व्यक्त गरिरहेका छन्। दाह्रीजुँगा र दौरा, टोपीको गेट अपमा देखिएका उनले कर्के नजर र अनुहारको भावले रिसाएको देखिन्छ । पोस्टर राकेश दाहालले डिजाइन गरेका हुन् ।
चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मि भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ ।
निर्देशक सेञ्चुरीले चलचित्रले ‘बालविवाह सामाजिक अपराध हो। त्यसकारण यसलाई अन्त्य गरौं’ भन्ने नारा लिएको बताए । ‘जुनाः एक व्यथा’ एक ऐतिहासिक र विशिष्ट प्रकृतिको चलचित्र हो ।
नेपाली समाजमा व्याप्त महिला हिंसा, बालविवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई यस चलचित्रको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिएको छ’, निर्देशक सेञ्चुरीले भन्नुभयो ।
उहाँले चलचित्रले बालविवाह तथा महिलाको मुद्दा बोकेको हुँदा नेपाल सरकारले सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्न लिएको लक्ष्यलाई सघाउने बताउनुभयो ।
पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको चलचित्रमा दीपकप्रसाद घिमिरेको लगानी छ । चलचित्रमा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ । चलचित्रको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।
यो चलचित्र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद, विज्ञ, लेखक, समालोचक लगायतले हेरिसकेका छन् ।