रेडियो मिसन ।
जनै पुर्णिमाको अवसरमा लाग्ने पाँचपोखरी मेलामा आउने तिर्थयात्रीलाई लक्षित गर्दै मेलम्ची नगरपालिकाले दुई महिनादेखि अवरुद्ध मेलम्ची तिपेनी सडक सुचारु गराउन थालेको छ । पाँचपोखरी मेलामा विभिन्न स्थानबाट आउने यात्रुको सहजतालाई ध्यान दिंदै मेलम्ची नगरपालिकाले अवरुद्ध सडक मर्मत गरेर सुचारु गराउन लागेको हो । मेलाका तिर्थ यत्राुसँगै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका बासिन्दालाई समेत आवागमनमा सहज बनाउन झण्डै दुई महिनादेखि अवरुद्ध सडक सुचारु गराउन लागिएको नगर प्रमुख आइतमान तामाङले बताउनुभयो । गत असार १ गते र त्यासपछि आएको बाढि र पहिरोका कारण कटान हुँदा मेलम्ची तिपेनी भोताङ सडक ठाउँ ठाउँमा अवरुद्ध छ ।
सडक अवरुद्ध हुँदा मेलम्ची हुदै पाँचपोखरी जाने यात्रुहरुलाई असुविधा हुने भएकाले तत्काल ट्रयाक खोलेर आवागमन सहज बनाउन लागिएको नगर प्रमुख तामाङले जानकारी दिनुभयो । पहिरो गएको स्थान मेलम्ची–९ स्थित मकैबारी पुगेर प्रमुख तामाङले यथाशिघ्र मेलम्चीबाट खाल्डे खोलासम्मको सडक सुचारु गराउन निर्देशन दिनुभएको छ ।
यसअघि नगरपालिकाले मेलम्ची, ज्यामिरे, सुनखानी, रातमाटा, खाल्डेखोला सडक मर्मत गरी पाँचपोखरी थाङ्पाल आवत जावत गर्ने बैकल्पिक मार्ग निर्माण गरेको थियो । सडक मर्मतका लागि प्रमुख तामाङ, उपप्रमुख उमा प्रधान प्राविधिकसहितको टोली लिएर पहिरोस्थल पुग्नुभएको थियो । यसअघि पनि पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आग्रहमा स्थलगत अवलोकनपछि प्रमुख तामाङले बैकल्पिक मार्ग मर्मत गर्न निर्देशन दिनुभएको थियो । खाल्डे खोला सम्म सडक सहज भएपछि यात्रुले लाँगर्चे हुँदै आवत जावत गर्न पाउनेछन् ।
यसैगरी मेलम्चीनगर प्रमुख आइतमान तामाङको निर्देशनमा फट्केश्वर साँखु सडक अन्तर्गत मेलम्ची नगरपलिकाको सिमा भित्र पर्ने छाप भन्ज्याङदेखि फट्केश्वरसम्मको विभिन्न स्थानको सडक मर्मत कार्य सुरु गरेको छ । केहि दिनदेखिको निरन्तर बर्षातका कारण ठाउँठाउँमा खाल्डाखुल्डी र पहिरो आएकोले पुर्ने र सम्याउने काम शुरु गरेको नगरपालिकाले जनाएको छ । सडक खाल्डाखुल्डीका कारण उक्त मार्ग प्रयोग गर्ने स्थानीय नागरिकले बर्षात शुरु भएसंँगै सास्ती खेप्नु परेको थियो ।।