मेलम्ची-हेलम्बू क्षेत्रको पुनर्निर्माणमा सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

* # समाचार समाज सिन्धुपाल्चोक

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बू क्षेत्रमा बाढीले पुर्‍याएरको क्षतिको पुनर्निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएकाे छ ।

मेलम्ची र हेलम्बू क्षेत्रको सोमबार स्थलगत अनुगमन गर्दै मन्त्री खड्काले बाढी प्रभावित क्षेत्रको पुननिर्माणमा सरकारले काम गर्ने बताउनुभयाे ।

उहाँले मेलम्ची र हेलम्बू क्षेत्रमा सिंचाइ व्यवस्थापन गर्न विशेष योजना अघि बढाउने घोषणा गर्नुभयाे । ‘बाढीपछिको हेलम्बू, मेलम्चीको पुनर्निर्माणको लागि म प्रतिबद्ध छु, यो ऐतिहासिक ठाउँको विकासमा सबै मिलेर अगाडी बढौं,’ उहाँले भन्नुभयाे ।

ऊर्जामन्त्री खड्काले पहाडी क्षेत्रका उर्वर भूमिको सदुपयोग गर्न सिंचाइ व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयाे । ‘सिन्धुपालचोक इन्द्रावती गाउँपालिका–भीमटारमा रहेका २२ वटा टारमा इन्द्रावती नदीको पानी ल्याएर सिंचाइका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार अघि बढाइनेछ,’ उहाँले भन्नुभयाे ।

पहाड़ी क्षेत्रमा कृषिको उत्पादनलाई बढावा दिन सिंचाइ व्यवस्थापन एकदमै महत्वपूर्ण भएको उहाँको भनाइ थियो । ‘यस क्षेत्रको सिंचाइका हाम्रो मन्त्रालय सक्रिय छ र म व्यक्तिगत रूपमा यसमा सहयोग गर्न तयार छु,’ मन्त्री खड्काले भन्नुभयाे ।

१ असार २०७८ मा आएको बाढीले मेलम्ची र हेलम्बू क्षेत्रमा ठूलो धनजनको क्षति पुर्‍याएरको थियो । हालसम्म पनि पुनर्निर्माण हुन सकेको छैन ।

कांग्रेस नेता एवम् उक्त क्षेत्रका सांसद मोहन बस्नेतको सक्रियतामा ऊर्जामन्त्री खड्का, राज्यमन्त्री खमबहादुर गर्बुजा, सिंचाइसचिव सरीता दवाडी, जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक सञ्जीव बरालगायतको टोलीले सोमबार स्थलगत निरीक्षण गरेको हो ।

निरीक्षणका क्रममा स्थानीयले बाढीपहिरोले पुगेको क्षतिको पुनर्निर्माण गर्न माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।

उनीहरूले बाढीले पुर्‍याएरको क्षतिको पुनर्निर्माणमा स्थानीय तहको पर्याप्त स्रोत–साधन नहुँदा जनता मारमा परेको भन्दै चाँडो पुननिर्माण गरिदिन आग्रह गरेका छन् ।

सोही क्रममा मन्त्री खड्काले बाढी र पहिरोबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि पहल गरिने बताउनुभएकाे हाे । ‘क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सरकारले प्राथमिकता दिनेछ, यसका लागि सम्बन्धित निकायसँग समन्वय गरेर चाँडो काम अघि बढाउनेछौं,’ उहाँले भन्नुभयाे ।

Leave a Reply