मेलम्ची नगरपालिका वडा नं १२ बाहुनीपाटी माझीगाउँ थाक्ले सडकको निर्माणाधीन कालोपत्रेको नगरपालिकाका प्रमुख आइतमान तामाङले अनुगमन गर्नुभएकाे छ ।
स्थलगत अनुगमन गर्ने क्रममा नगरप्रमुख तामाङले निर्माण भइरहेको योजना मापदण्ड भित्र रहेर गुणस्तरीय कार्य गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयाे । मेलम्ची नगरपालिका वडा नं. १२ स्थित बाहुनीपाटी माझीगाउँ थाक्ले सडक खण्ड २०६४/६५ सालमै ट्र्याक खाेलिसकिए पनि अहिलेसम्म स्तरोन्नति हुन सकेको थिएन ।
साे सडक ढलान र कालाेपत्रे गरि ७५० मिटरकाे रहेकाे छ । भ्याट सहित २ कराेड ७२ लाखमा सम्झाैता भई एसआरबी बिल्डर्स प्रालिले साे सडककाे कालाेपत्रे र ढलान गर्ने कार्य गरिरहेकाे मेलम्ची नगरपालिकाका इन्जिनियर राजु दंगालले जानकारी दिनुभयाे । साे सडककाे कालाेपत्रे गरिसक्नुपर्ने म्याद असार २० सम्म रहेकाे छ ।
अनुगमनकाे क्रममा उपस्थित स्थानिय समाजसेवी प्रशान्त नेपालले छोटो समयमै गाउँमा सडक पुगेकोमा खुसी व्यक्त गर्नुभयाे । ‘भिरपाखाको बाटो निकै डरलाग्दो थियाे’, उहाँले भन्नुभयाे ‘अहिले गाउँमा गाडी पुगेको छ’ । सडक निर्माणका सवालमा अहिलेको स्थानीय सरकार संवेदनशील देखिएको भन्दै उहाँले यसलाई सबैले सराहनीय कार्यका रूपमा लिएकाे बताउनुभयाे ।
स्थानीय सरकारका प्रतिनिधि मात्र नभई स्थानीय जनतामा पनि आफ्नो गाउँलाई सडक सञ्जालले जोड्ने हुटहुटी देखिएकोले सडक निर्माण तिव्र गतिमा भइरहेको वडा नं. १२ का वडाध्यक्ष गणेश बहादुर तामाङले बताउनुभयाे ।
गाउँ गाउँका सडक पक्की बनाउन थालिएपछि स्थानीय पनि उत्साहित भएका छन् ।