मेलम्ची । मेलम्ची नगरपालिकाले नगरभित्र सञ्चालित ५५५ भन्दा बढी उद्योग तथा व्यवसायको बजार अनुगमन गरेको छ। असोज २० देखि २२ गतेसम्म नगरका १३ वटै वडामा गरिएको अनुगमनका क्रममा २ लाख ५० हजार रुपैयाँभन्दा बढी मूल्यका म्याद गुज्रिएका सामान जफत गरी नष्ट गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनुषा कोइलाका अनुसार अनुगमनका क्रममा एक जना व्यवसायीलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ। उद्योग, पसल, मेडिकल, भेटेरिनरीलगायतका व्यवसायमा बिक्री भइरहेका वस्तुको गुणस्तर, उपभोग्य मिति, मूल्यसूची र व्यवसाय सञ्चालनको अवस्थाबारे जाँच गरिएको थियो।
उपप्रमुख उमा प्रधानको संयोजकत्वमा चारवटा टोली बनाएर गरिएको अनुगमनमा व्यवसायीलाई उपभोक्ता हित संरक्षणसम्बन्धी कानुनी व्यवस्था र मापदण्डबारे जानकारी गराइएको थियो। अनुगमनमा नेपाल प्रहरी, मेलम्ची नगर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च, सञ्चारकर्मी तथा नगरपालिकाका कर्मचारी सहभागी थिए।
उपप्रमुख प्रधानले बजार अनुगमनको उद्देश्य व्यवसायीलाई दुःख दिनु नभई उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नु रहेको बताउनुभयो।
नगरपालिकाले बजारलाई सुरक्षित र व्यवस्थित बनाउँदै उपभोक्ताको स्वास्थ्य तथा अधिकार संरक्षण गर्न अनुगमनलाई निरन्तरता दिने जनाएको छ। साथै, सामान खरिद गर्दा उत्पादन मिति, उपभोग्य मिति, मूल्य र गुणस्तर जाँच गर्न उपभोक्तालाई आग्रह गरिएको छ।
