इन्द्रावती गाउँपालिकाद्वारा भोटेकोशी बाढी पीडितका लागि १० लाख रुपैयाँसहित १ दिनको पारिश्रमिक सहयोग घोषणा

* # पालीका खबर समाज सिन्धुपाल्चोक

नवलपुर । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूका लागि इन्द्रावती गाउँपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले बिहीबार (२०८३ भाद्र ११ गते) एक प्रेस विज्ञप्ति जारी गर्दै २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण भएको अकल्पनीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोगको घोषणा गरेको हो ।

विज्ञप्ति अनुसार गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट नगद रु. १०,००,००० (दश लाख) रुपैयाँ उपलब्ध गराइनेछ । यसका साथै इन्द्रावती गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक तथा विद्यालय कर्मचारीहरूका तर्फबाट १ दिनको पारिश्रमिक बराबरको रकम राहत कोषमा सहयोग गर्ने निर्णय भएको छ ।

विज्ञप्तिमा बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरिएको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ता नागरिकहरूको तत्काल खोजी तथा उद्धारका लागि सम्बन्धित पक्षसँग अनुरोध गरिएको छ ।

विपद्को यस कठिन समयमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार, राहत तथा पुनस्थापनाका लागि सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संघ–संस्था, सामाजिक अभियन्ता, निजी क्षेत्र र आम नागरिकलाई एकजुट हुन इन्द्रावती गाउँपालिकाले हार्दिक अपिलसमेत गरेको छ ।

Leave a Reply