नवलपुर । इन्द्रावती गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा भएका विकास निर्माण, सेवा प्रवाह, बजेट कार्यान्वयन तथा विभिन्न शाखाबाट सञ्चालन गरिएका कार्यक्रमको वार्षिक प्रगति समीक्षा गरेको छ। समीक्षामा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, पशु तथा कृषि, सामाजिक सुरक्षा, डिजिटल सेवा र उद्यम विकासलगायतका क्षेत्रमा काम गरेको विवरण प्रस्तुत गरिए पनि सीमित आन्तरिक स्रोत, कर्मचारी अभाव, योजना कार्यान्वयनमा ढिलाइ र बजेटको प्रभावकारी उपयोगलगायत चुनौती कायमै रहेको औँल्याइएको छ।

गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले स्रोत र साधनको अवस्थालाई आधार बनाएर बजेट विनियोजन गर्दै आएको र कुल बजेटको करिब ५० प्रतिशत पूर्वाधार विकासमा विनियोजन गरिएको बताउनुभयो। उहाँले आफूले अहिलेसम्म इमानदार, निःस्वार्थ र सन्तुलित ढङ्गले काम गर्दै आएको दाबी गर्दै गाउँपालिकालाई राष्ट्रियस्तरमा परिचित हुने गरी काम गर्न सफल भएको बताउनुभयो।
अध्यक्ष नेपालका अनुसार स्थानीय तहको संस्थागत क्षमता मूल्याङ्कन (लिजा) मा गाउँपालिका दोस्रो स्थानमा आउन सफल भएको तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्याङ्कनमा पहिलो स्थान हासिल गरेको छ। सामाजिक सङ्घसंस्थासँगको समन्वयमा शिक्षा क्षेत्रमा काम भइरहेको, स्वास्थ्य क्षेत्रमा मध्यमस्तरको सेवा प्रवाह गर्न सफल भएको र आन्तरिक स्रोत करिब २० प्रतिशत वृद्धि गर्न सफल भएको उहाँले बताउनुभयो। कम बेरुजु भएको स्थानीय तहका रूपमा वित्तीय अनुशासन कायम गर्नसमेत प्रयास गरिएको उहाँको भनाइ थियो।
उहाँले तितेपातीको तेल उत्पादनलाई देश तथा विदेशमा प्रचार गर्ने तथा बाँदर नियन्त्रणका लागि रासायनिक उपाय विकास गर्नेजस्ता काम भएकाे उल्लेख गर्नुभयो। काम गरे पनि त्यसको प्रचारप्रसारमा आफूहरू नलागेको भन्दै उहाँले उपलब्धिलाई आत्मसन्तुष्टिका रूपमा लिएर स्वार्थरहित ढङ्गले काम गर्न जनप्रतिनिधि तथा कर्मचारीलाई आग्रह गर्नुभयो।
अध्यक्ष नेपालले तीन तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउँदै उपलब्ध स्रोतलाई एकीकृत गर्न नसक्नु अहिलेको प्रमुख समस्यामध्ये एक भएको उल्लेख गर्नुभयो। “जति काम गरे पनि चित्त बुझाउन नसकिने अवस्था हुन्छ, तर स्रोतअनुसार गर्व गर्न लायक काम गरेकाे मान्नुपर्छ,” उहाँले भन्नुभयाे ।

गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले गाउँपालिकाले गरेका प्रयास सकारात्मक भए पनि उपलब्धि पर्याप्त नभएको बताउनुभयो। आफूले गरेको काममा गर्व गर्न सकिने अवस्था भए पनि “किन गर्न सकिएन” भन्ने विषयलाई साझा बनाएर आगामी दिनमा अघि बढ्नुपर्ने उहाँको धारणा थियो।

बजेट कार्यान्वयनमा चुनौती
आर्थिक प्रशासन शाखाका प्रमुख भाष्कर पन्तले गाउँपालिकाको समग्र आर्थिक प्रगति, बजेट कार्यान्वयन र चुनौतीबारे विवरण प्रस्तुत गर्नुभयो। उहाँका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिकाको समग्र बजेट खर्च करिब ७६.२४ प्रतिशत रहेको छ।
गाउँपालिकाको आन्तरिक स्रोत सीमित रहेको उल्लेख गर्दै उहाँले स्रोत बढाउन विशेष ध्यान दिनुपर्ने बताउनुभयो। निजी क्षेत्रसँग समन्वय विस्तार गर्नुपर्ने, चार सयभन्दा बढी योजनाको कार्यान्वयन गर्नुपर्ने अवस्था र सीमित स्रोतका कारण प्रभावकारी व्यवस्थापन चुनौतीपूर्ण रहेको उहाँको भनाइ थियो। आन्तरिक आय वृद्धि गाउँपालिकाको साझा प्राथमिकता बन्नुपर्ने उहाँले बताउनुभयो।

वडागत सेवा प्रवाह र राजस्व
वडागत प्रगति विवरण प्रस्तुत गर्दै बिनोद सापकोटाले गाउँपालिकाका वडाहरूबाट प्रदान भएका विभिन्न सेवा तथा सामाजिक सुरक्षा कार्यक्रमबारे जानकारी दिनुभयो। आर्थिक वर्षमा ३ हजार ८९५ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको तथा १ हजार ५९४ व्यक्तिगत घटना दर्ता गरिएको विवरण प्रस्तुत गरियो।
राजस्व सङ्कलनतर्फ वडा नं. ४ ले सबैभन्दा बढी राजस्व सङ्कलन गरेको तथा वडा नं. ११ मा सबैभन्दा कम राजस्व सङ्कलन भएको जानकारी दिइयो।

स्वास्थ्यमा ९२ प्रतिशत प्रगति, तर मातृ तथा बाल स्वास्थ्य चुनौतीपूर्ण
स्वास्थ्य शाखा प्रमुख अनिरुद्र तिमल्सिनाले आर्थिक तथा भौतिकतर्फ स्वास्थ्य शाखाले करिब ९२ प्रतिशत प्रगति हासिल गरेको जानकारी दिनुभयो। २२ हजार ९४९ जनसङ्ख्यालाई आधार मानेर स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएकोमा विभिन्न स्वास्थ्य सेवामार्फत ४१ हजार १६९ सेवा प्रदान गरिएको उहाँले बताउनुभयो।
गाउँघर तथा खोप क्लिनिकमार्फत २१ हजार ७७१ जनाले सेवा लिएका छन्। स्वास्थ्य स्वयंसेविकामार्फत एक जनाले औसत ३५ जनासम्म सेवा पुर्याउने गरेको तथा प्रतिदिन औसत १३ जनासम्म सेवा प्रवाह हुने गरेको विवरण प्रस्तुत गरियो।
बालबालिकाको खोपतर्फ २४१ जनाले पहिलो खोप र २०९ जनाले अन्तिम खोप लगाएका छन्। गाउँपालिकाका सबै वडामा पूर्ण खोप सुनिश्चित गरिएको छ। पोषणतर्फ कम तौल भएका बालबालिकाको अवस्था ०.७ प्रतिशत रहेको तथा पूर्ण स्तनपान गराउने दर १०० प्रतिशत रहेको जानकारी दिइयो। गर्भवतीमध्ये ४५ प्रतिशतले आइरन चक्की सेवन गर्ने र ४३ प्रतिशतले आठ पटकसम्म गर्भ जाँच गर्ने गरेको तथ्याङ्क प्रस्तुत गरियो।
स्वास्थ्य शाखाका अनुसार गाउँपालिकामा ग्यास्ट्रिक, चोटपटक, उच्च रक्तचाप र जोर्नी दुखाइका समस्या बढी देखिएका छन्। दुई जना मृत शिशु जन्मिएको तथा तीन जना घरमै सुत्केरी भएको विवरण प्रस्तुत गर्नुभयाे । ६९ जना संस्थागत सुत्केरी भएका छन् भने मातृ तथा शिशु मृत्युदर शून्य रहेको जनाइएको छ।
एचपीभी परीक्षणमा २४ जना पोजेटिभ देखिएका छन्। स्तन क्यान्सर, आङ खस्ने समस्या, क्षयरोग र कुष्ठरोगको परीक्षणसमेत गरिएको छ। क्षयरोग परीक्षण गरिएका ११७ जनामध्ये एक जनामा पोजेटिभ देखिएको छ। तीनवटा आँखा शिविर सञ्चालन गरिएको र गाउँपालिकामा डेंगु नदेखिएको जानकारी दिइयो। गर्भवती महिलाको एचआईभी परीक्षणलाई समेत निरन्तरता दिइएको छ।
मानसिक स्वास्थ्यतर्फ डिप्रेसनको समस्या बढ्दै गएकोऽ स्वास्थ्य भत्ताअन्तर्गत मासिक ५ हजार रुपैयाँका दरले कुल ३७ लाख ७६ हजार रुपैयाँ खर्च भएको विवरण प्रस्तुत गरियो। स्वास्थ्य संस्थामा आउनेमध्ये करिब ८० प्रतिशत पहिलोपटक सेवा लिन आउने र घरदैलो कार्यक्रमबाट ३७७ नयाँ बिरामी पहिचान गरिएको जनाइएको छ।

३१३ योजनामध्ये २५३ सम्पन्न
पूर्वाधार शाखा प्रमुख राकेश श्रेष्ठले गाउँपालिकामा सञ्चालित ३१३ योजनामध्ये २५३ वटा योजना सम्पन्न भएको जानकारी दिनुभयो। २.५ किलोमिटर सडक पिच तथा ५.४८ ढलान गरिएको र १.७८ किलोमिटर नयाँ सडक ट्र्याक निर्माण गरिएको छ।
‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत ६३ वटा धारा निर्माण तथा तीनवटा कुवा निर्माण गरिएको छ। धार्मिक तथा सामुदायिक संरचनातर्फ ८३ वटा मन्दिर र नौवटा चर्च निर्माण गरिएको विवरण प्रस्तुत गरियो। एकवटा नक्सा पास भएको तथा विपद् व्यवस्थापनमा ६१ लाख रुपैयाँ खर्च भएको जानकारी दिइयो। योजनाहरूको २५१ पटक अनुगमन गरिएको छ।
शाखाले योजनाको सङ्ख्या धेरै हुनु, जनश्रमदानको कमी, समयमा सम्झौता नहुनु, निर्माण सामग्रीको मूल्य वृद्धि तथा योजनालाई टुक्र्याएर सञ्चालन गर्ने प्रवृत्तिलाई प्रमुख चुनौतीका रूपमा औँल्याएको छ।

शिक्षामा ९५ प्रतिशत खर्च, सिकाइ उपलब्धि ७३ प्रतिशत
शिक्षा शाखा प्रमुख मीन धामीका अनुसार गाउँपालिकाले शिक्षा क्षेत्रमा ३ करोड ७४ लाख रुपैयाँ विनियोजन गरेको थियो भने सङ्घ, प्रदेश तथा अन्य स्रोतसमेत गरी कुल २४ करोड २७ लाख रुपैयाँ खर्च भएको छ। शिक्षा क्षेत्रको बजेट खर्च ९५ प्रतिशत रहेको र गाउँपालिकाले सञ्चालन गरेका ३३ वटै कार्यक्रम सम्पन्न भएको जानकारी दिइयो।
गाउँपालिकामा ४ हजार २५६ विद्यार्थी र ३५२ शिक्षक रहेका छन्। विद्यार्थी–शिक्षक अनुपात १ः१२ रहेको तथा २ हजार २२७ विद्यार्थीले दिवाखाजा प्राप्त गरिरहेका छन्। पाठ्यपुस्तक निर्माण गरी अध्यापन गर्ने अभ्याससमेत गरिएको छ।
शैक्षिक सिकाइ उपलब्धि ७३ प्रतिशत पुगे पनि अनिवार्य तथा निःशुल्क शिक्षा प्रभावकारी रूपमा कार्यान्वयन गर्नु चुनौतीका रूपमा रहेको र माध्यमिक तहमा ४ जीपीए ल्याउने विद्यार्थी उत्पादन गर्न नसकिएको शाखाले जनाएको छ।

कृषिमा बजेट कार्यान्वयन र तथ्याङ्कको समस्या
कृषि शाखा प्रमुख लक्ष्मी घर्तीले कृषि क्षेत्रमा ४५ लाख रुपैयाँ बजेट रहेको जानकारी दिनुभयो। किसान घरधुरी सर्वेक्षणमा बसाइँसराइका कारण समस्या देखिएको, सङ्घीय ससर्त बजेट कार्यान्वयनमा कठिनाइ रहेको र सङ्घीय मापदण्डअनुसार किसानले कार्यक्रम सञ्चालन गर्न नसक्ने अवस्था रहेको उहाँले बताउनुभयो।
कृषि सामग्री तथा मलको वास्तविक आवश्यकता यकिन गर्ने तथ्याङ्क अभाव, कर्मचारीको कमी र कार्यक्रम कार्यान्वयनमा देखिएका व्यावहारिक कठिनाइलाई शाखाले चुनौतीका रूपमा प्रस्तुत गरेको छ।

पशु सेवामा ६६.९ प्रतिशत प्रगति
पशु शाखा प्रमुख सङ्गीता खत्रीले १ करोड ६३ लाख ५० हजार रुपैयाँ बजेटमध्ये ६६.९ प्रतिशत प्रगति भएको जानकारी दिनुभयो। २१ वटा कार्यक्रममध्ये १३ वटा कार्यक्रम सम्पन्न भएको छ।
१०० वटा कुकुरको बन्ध्याकरण, ५७४ लिटर क्याल्सियम वितरण तथा ३० वटा कृत्रिम गर्भाधान गरिएको विवरण प्रस्तुत गरियो। क्याल्सियमको कमीबाट हुने रोग बढी देखिएको भए पनि गाउँपालिकामा प्रयोगशाला नहुँदा परीक्षण तथा उपचारमा समस्या रहेको शाखाले जनाएको छ। पशु क्षेत्रको वास्तविक अवस्था पहिचान गर्न तथ्याङ्क सङ्कलन तथा कर्मचारी र किसानका लागि तालिम आवश्यक रहेको बताइएको छ।

प्रशासनमा ४९ स्थायी, १०४ करार कर्मचारी
प्रशासन शाखा प्रमुख सुजता दाहालले गाउँपालिकामा ४९ जना स्थायी र १०४ जना करार कर्मचारी कार्यरत रहेको जानकारी दिनुभयो। नयाँ करारमा १० जना र स्थायी सेवामा दुई जना थपिएको विवरण प्रस्तुत गरियो।
दैनिक कार्यप्रगति डिजिटल माध्यमबाट उपलब्ध गराउने काम भइरहेको तथा राजस्वतर्फ २४ करोड ७८ लाख १ हजार रुपैयाँ सङ्कलन भएको र वित्तीय प्रगति ८२.३३ प्रतिशत रहेको जानकारी दिइयो।

डिजिटल सेवामा इ–हाजिरी पूर्ण कार्यान्वयन
सूचना प्रविधि शाखा प्रमुख सन्तोष सापकोटाले डिजिटल शासन तथा सेवा प्रवाहलाई प्राथमिकता दिइएको बताउनुभयो। गाउँपालिकामा इ–हाजिरी १०० प्रतिशत कार्यान्वयन भएको र डाटा सुरक्षित राख्ने व्यवस्था गरिएको जानकारी दिइयो।
भौगोलिक अवस्थाका कारण इन्टरनेट सेवा कमजोर हुनु तथा सबै स्थानमा ब्याकअप सुविधा उपलब्ध नहुनु चुनौतीका रूपमा रहेको शाखाले जनाएको छ। शाखाको बजेट खर्च करिब ७० प्रतिशत रहेको छ।

१ हजार ५४४ घटना दर्ता
पञ्जीकरण शाखा प्रमुख अग्नि दनुवारका अनुसार आर्थिक वर्षमा १ हजार ५४४ घटना दर्ता भएका छन्। शाखाको वित्तीय प्रगति ७२.१३ प्रतिशत रहेको छ।
१५ हजार परिचयपत्र वितरण, ४८० नयाँ दर्ता, ३७ जनालाई अपाङ्गता परिचयपत्र वितरण तथा विभिन्न सहायक सामग्री वितरण गरिएको छ। सामाजिक सुरक्षा भत्तातर्फ ४० वटा नयाँ कार्ड जारी गरिएको र बजेट खर्च ८३.२२ प्रतिशत रहेको जानकारी दिइयो।

वैदेशिक रोजगारमा अभिमुखीकरण र मनोसामाजिक परामर्श
रोजगार शाखा प्रमुख गोविन्द कोइरालाले शाखाबाट सञ्चालन भएका विभिन्न कार्यक्रमबारे जानकारी दिँदै स्थानीयस्तरमै वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण तालिम तथा मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको बताउनुभयो।

उद्यम विकासमा ६० जना लाभान्वित
उद्यम विकास शाखा प्रमुख सपना नेपालीले उद्यम विकासतर्फ ९ लाख ४६ हजार रुपैयाँ बजेटबाट सीप विकास तथा प्रविधि हस्तान्तरणका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो।
तीन समूहलाई प्रविधि हस्तान्तरण गरिएको तथा गलैँचा बुनाइ, जुत्ता–चप्पल र साबुन बनाउने तालिम सञ्चालन गरिएको छ। तालिमबाट ६० जना लाभान्वित भएका छन्। एक जना नयाँ उद्यमी सिर्जना भएको शाखाले जनाएको छ।
सीपयुक्त जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने उद्देश्य रहे पनि बजेट अभावका कारण छोटो अवधिका तालिम सञ्चालन गर्नुपर्ने अवस्था रहेको शाखा प्रमुख नेपालीले बताउनुभयो।



साझेदार संस्थाका कार्यक्रम पनि प्रस्तुत
समीक्षामा गाउँपालिकासँग सहकार्य गरिरहेका विभिन्न गैरसरकारी तथा साझेदार संस्थाका प्रतिनिधिले पनि आफ्ना कार्यक्रम र उपलब्धिबारे प्रस्तुति दिएका थिए।
महिला आत्मनिर्भरता केन्द्र माङ्क का स्वास्थ्य सहजकर्ता धर्मसागर तामाङले संस्थाले गाउँपालिकामा सञ्चालन गरेका स्वास्थ्य तथा सामाजिक कार्यक्रमबारे जानकारी दिँदै आगामी कार्यक्रमका लागि १७ लाख रुपैयाँ बराबरको योजनाबारे प्रस्तुति दिनुभयो। ग्रामीण शिक्षा सेवा गुठी (रेष्ट)का जिल्ला कार्यक्रम संयोजक कुमार भट्टराईले संस्थाका कार्यक्रमबारे जानकारी गराउनुभयो भने सीडीसीएफका कार्यक्रम संयोजकले पनि गाउँपालिकामा सञ्चालन गरिएका कार्यक्रम तथा आगामी योजनाबारे प्रस्तुति दिनुभयो।

खानेपानीदेखि शिक्षासम्म सुधारको माग
कार्यक्रममा सहभागी श्यामबहादुर गिरीले गाउँपालिकाले अझै पनि बृहत् खानेपानीको समस्या समाधान गर्न नसकेको बताउनुभयो। उहाँले स्रष्टा तथा प्रतिभाको सम्मान, शैक्षिक सुधार र समुदायमा प्रभावकारी सेवा विस्तारका लागि गाउँपालिकाले थप ध्यान दिनुपर्ने सुझाव दिनुभयो।
समग्रमा वार्षिक समीक्षा कार्यक्रमले इन्द्रावती गाउँपालिकाले पूर्वाधार निर्माणदेखि शिक्षा, स्वास्थ्य, डिजिटल सेवा, सामाजिक सुरक्षा, कृषि, पशु सेवा र उद्यमशीलतासम्म विभिन्न क्षेत्रमा काम अघि बढाएको देखाएको छ। तर बजेट कार्यान्वयनको दर, आन्तरिक स्रोतको सीमितता, कर्मचारी अभाव, योजना धेरै हुनु, कृषि तथा पशु क्षेत्रको तथ्याङ्क अभाव र स्वास्थ्य तथा शिक्षाका केही सूचकमा देखिएका कमजोरीले आगामी वर्षका लागि स्पष्ट चुनौतीसमेत देखाएका छन्।
गाउँपालिकाले आगामी दिनमा उपलब्ध स्रोतको प्रभावकारी परिचालन, तीन तहका सरकारबीच समन्वय, निजी क्षेत्र तथा सामाजिक संस्थासँग सहकार्य र आन्तरिक राजस्व वृद्धि गर्दै विकासका कार्यक्रमलाई थप परिणाममुखी बनाउने आवश्यकता समीक्षा कार्यक्रमले औँल्याएको छ।


