इन्द्रावती गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको सातौँ बैठक सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

नवलपुर । इन्द्रावती गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको सातौँ बैठक विपद् प्रभावितलाई राहत, निजी आवास पुनर्निर्माण, विपद् व्यवस्थापन कोषबाट भएको खर्च तथा आगामी विपद् पूर्वतयारीलगायत विषयमा छलफल गर्दै सम्पन्न भएको छ ।

बैठकमा विपद्बाट प्रभावित परिवारको वर्गीकरण तथा राहत वितरणका विषयमा छलफल भएको छ । प्राप्त विवरणअनुसार ‘क’ वर्गमा १२ जना र ‘ख’ वर्गमा २२ जना प्रभावित सूचीकृत भएका छन् । राहतका लागि ‘क’ वर्गलाई ४० हजार रुपैयाँ र ‘ख’ वर्गलाई २५ हजार रुपैयाँ उपलब्ध गराउने विषयसमेत बैठकमा प्रस्तुत गरिएको थियो ।

बैठकमा विपद् व्यवस्थापन कोष शीर्षकबाट भएको खर्च अनुमोदन गरिनुका साथै, स्थायी आवास निर्माण तथा आवास संरक्षणसम्बन्धी विषयमा पनि छलफल भएको छ । राहतसम्बन्धी निवेदन तथा अन्य कार्यमा ३ लाख २३ हजार ९२५ रुपैयाँ खर्च भएको विवरण प्रस्तुत गरिएको छ ।
यसैगरी विपद् व्यवस्थापनका लागि व्यवस्था गरिएको २ हजार लिटर पेट्रोलमध्ये २० लिटर बाँकी रहेको विवरणसमेत बैठकमा जानकारी गराइएको थियो ।

बैठकमा गाउँपालिकासँग विपद् प्रतिकार्यका लागि हाल उपलब्ध सामग्री कति छन्, कुन–कुन सामग्री छन् र तिनको अवस्था कस्तो छ भन्ने पनि जानकारी गराइएको छ ।

विगतका विपद्का घटनाको समीक्षा गर्दै २०८१ सालको विपद्बाट क्षति भएका ४३ घरको म्म्ब् गरिएको जानकारी बैठकमा प्रस्तुत गरिएको थियो । तीमध्ये हालसम्म ८ जना लाभग्राहीको सूचीमा समावेश भएको र बाँकीको प्रक्रियामा रहेको जानकारी दिइएको छ।

निजी तथा स्थायी आवास निर्माण गर्दा सम्बन्धित कार्यविधि र मापदण्डअनुसार निर्माण प्रक्रिया अघि बढाउनुपर्ने विषयमा समेत छलफल भएको छ । विपद् प्राधिकरणको निजी आवास शाखाका प्रतिनिधि सँग सम्बन्धित विषय मा छलफल समेत गरिएको छ ।

बैठकमा जलवायु परिवर्तनका कारण विपद्का घटना जुनसुकै समयमा आउन सक्ने भएकाले पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्ने, विपद्का दृष्टिले बढी जोखिममा रहेका तथा मुख्य समस्या देखिएका स्थानलाई प्राथमिकता दिनुपर्ने सुझाव सहभागीहरूले दिएका छन् ।

बैठकमा खर्च विवरण, राहतका लागि प्राप्त निवेदन, स्थायी आवास, विपद् व्यवस्थापन सामग्री, विगतका क्षतिको अवस्था र पूर्वतयारी लगायत विविध विषयमा छलफल गरिएको थियो ।

Leave a Reply