सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं. ८ मा स्थानीय कृषकहरूका लागि निःशुल्क कफीको बिरुवा वितरण तथा कफी खेती सम्बन्धी तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। बाँझो जमिनको सदुपयोग गर्दै कफी खेतीमार्फत स्वरोजगार सिर्जना गर्ने र स्थानीयको आयआर्जन बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
सिन्धु उत्थान केन्द्र (SUK NEPAL) को सहयाेगमा वडा स्तरीय कृषि विकास कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको हो। इन्द्रावती गाउँपालिका वडा नं. ८ वडा कार्यालय सँगकाे सहकार्यमा सिन्धु उत्थान केन्द्र (SUK NEPAL) ले आज वडा कार्यालय प्राङ्गणमा कार्यक्रम सम्पन्न गरेकाे हो।
तालिमका क्रममा सहभागी कृषकहरूलाई कफी रोपण, बगैँचा व्यवस्थापन, आधुनिक कृषि प्रणाली तथा व्यावसायिक कफी खेतीका अवसरहरूबारे व्यावहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो। तालिमपश्चात् कफी खेतीमा रुचि देखाएका तथा माग बमोजिमका आवश्यक कागजात (निवेदन र नागरिकताको प्रतिलिपि) बुझाएका इच्छुक वडावासी कृषकहरूलाई निःशुल्क रूपमा कफीका बिरुवा समेत वितरण गरिएको छ।
वडा अध्यक्ष डिल बहादुर श्रेष्ठ, गाउँपािलकाकाे कृषि विकास शाखाबाट रवीना काेजु, सिन्धु उत्थान केन्द्र (SUK NEPAL) को तर्फबाट राजकुमार भट्टराई लगाएत स्थानियकाे बाक्लाे उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमले स्थानीय स्तरमा कफी खेतीको प्रवर्द्धन गर्दै ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन र समृद्धिको आधार तयार पार्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।




