ईन्द्रावतीमा ४ मा वडास्तरीय जलवायु जोखिम विश्लेषण तथा अनुकूलन कार्ययोजना तर्जुमा सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक

​नवलपुर, सिन्धुपाल्चोक

ईन्द्रावती गाउँपालिका वडा नम्बर ४ मा स्थानीय अनुकूलन कार्ययोजना (LAPA) तर्जुमाका लागि वडास्तरीय वातावरणीय तथा जलवायुजन्य जोखिम र संकटासन्नता विश्लेषण कार्यशाला सम्पन्न भएको छ।


​ईन्द्रावती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष क्षेत्रबहादुर तामाङको सभाध्यक्षतामा उक्त कार्यशाला सञ्चालन भएको हो। ​कार्यक्रममा सामुदायिक विपद् तथा वातावरण संरक्षण मञ्च नेपाल (CDECF) का कोषाध्यक्ष लक्ष्मीदेवी कोइराला तथा कार्यकारी निर्देशक गोविन्द सापकोटाको उपस्थिति रहेको थियो।

कार्यशालाको सहजीकरण जलवायु इन्जिनियर मिनेश गुरुङले गर्नुभएको थियो। ​सहजकर्ता गुरुङले स्थानीय स्तरमा बढ्दै गएको जलवायु परिवर्तनको असर, वातावरणीय जोखिमका कारकहरू र तिनले समुदायमा पारेको संकटासन्नताका विषयमा प्राविधिक विश्लेषण प्रस्तुत गर्नुभएको थियो।

सहभागीहरूले वडाभित्र रहेका मुख्य–मुख्य जलवायुजन्य जोखिमहरू (जस्तै: पहिरो, खडेरी, जलस्रोत सुक्दै जानु आदि) को पहिचान गर्दै भावी जोखिम न्यूनीकरणका उपायहरूबारे छलफल गरेका थिए।

​वडाध्यक्ष क्षेत्रबहादुर तामाङले जलवायु परिवर्तनको असरले सर्वसाधारणको जीवनयापनमा परेको प्रभावलाई ध्यानमा राख्दै स्थानीय अनुकूलन कार्ययोजना निर्माणमा यो कार्यशाला कोशेढुङ्गा साबित हुने बताउनुभयो। वडाको वास्तविक अवस्था र आवश्यकताका आधारमा बन्ने कार्ययोजनाले भावी दिनमा विपद् न्यूनीकरण र वातावरण संरक्षणमा ठूलो सहयोग पुर्‍याउने उहाँले बताउनुभयाे। भाेलिकाे दिनमा स्थानियले यस्ता सिकाईलाई आत्मसात गरेर लैजानुपर्नेमा उहाँले जाेड दिनुभयाे ।

​कार्यशालामा वडाभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, विद्यार्थीहरू, स्थानीय संघ-संस्थाका प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
सहभागीहरूले समूहगत छलफलमार्फत आफ्ना अनुभव र सुझावहरू प्रस्तुत गर्दै प्रभावकारी स्थानीय अनुकूलन कार्ययोजना तर्जुमा गर्न सक्रिय योगदान पुर्‍याएका थिए।

ईसिमाेडकाे सहयाेग र सामुदायिक विकास तथा वातावरण शंरक्षण मञ्चकाे आयाेजनामा साे कार्यशाला सम्पन्न भएकाे हाे ।

Leave a Reply