ग्रामीण स्वास्थ्य तथा शिक्षासेवा गुठी (रेष्ट) को सामाजिक परीक्षण कार्यक्रम इन्द्रावती गाउँपालिकामा सम्पन्न भएको छ। कार्यक्रमको सहजीकरण Himalayan Growth Minds का सहजकर्ता तनुजा बस्नेतले गरेका थिए ।
कार्यक्रममा रेष्टले हालसम्म गरेका कार्यक्रम, समुदायमा पारेको प्रभाव तथा आगामी कार्यदिशाबारे विस्तृत जानकारी गराइएको थियो। विसं २०४९ सालमा स्थापना भएको रेष्टले हाल देशका १४ जिल्लामा शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको छ। संस्थामार्फत हालसम्म २८ हजारभन्दा बढी विद्यार्थीले सहयोग प्राप्त गरिसकेका छन्। जोखिममा परेका बालबालिकाको शिक्षा तथा स्वास्थ्य अधिकारको संरक्षणका लागि संस्था निरन्तर क्रियाशील रहँदै आएको र दिगो विकास लक्ष्य प्राप्तिमा समेत उल्लेखनीय योगदान पुर्याएको जानकारी दिइयो।
रेष्टले सिन्धुपाल्चोकका विभिन्न स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिरहेको छ। जिल्लामा हाल १ हजार १५ जना विद्यार्थीले संस्थाबाट सहयोग पाइरहेका छन् भने इन्द्रावती गाउँपालिकामा मात्रै २ सय ६६ जना विद्यार्थी लाभान्वित भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि तथा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कानाथ नेपाल ले गाउँपालिकाले १३ वटा क्षेत्रमा काम गरिरहेको र सबै क्षेत्रलाई एकैपटक अघि बढाउन सम्भव नभएकाले प्राथमिकीकरण गरेर काम गरिरहेको बताउनुभयो। उहाँले शैक्षिक क्षेत्र गाउँपालिकाको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै रेष्टलाई गाउँपालिकाको शैक्षिक क्षेत्रको “पिलर” का रूपमा चित्रण गर्नुभयो। गाउँपालिकाको शैक्षिक उपलब्धिमा रेष्टको ठूलो योगदान रहेको बताउँदै संस्थाले सञ्चालन गरेका हरेक कार्यक्रम गाउँपालिकाकै कार्यक्रम सरह महसुस भएको उहाँको भनाइ थियो। गाउँपालिकाले हालसम्म आठ वटा संस्थासँग साझेदारीमा शैक्षिक कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै उहँले रेष्टलाई कार्यक्षेत्र विस्तार गर्न तथा सबै संघसंस्थासँग समन्वय गरेर अघि बढ्ने धारणा राख्नुभयो ।
कार्यक्रमका सभापति तथा रेष्टका कोषाध्यक्ष सानुबाबा घिमिरे ले संस्थाहरूको सहयोग आइहाल्छ भनेर परनिर्भर हुने अवस्था सिर्जना हुन नहुने बताउनुभयो। संस्थाले सहयोग गरे मात्रै बालबालिकालाई विद्यालय पठाउने र सहयोग नभए नपढाउने मानसिकता विकास हुन नहुने उहाँको भनाइ थियो। उहाँले संस्थाका कार्यक्रम फेज आउट हुन लागेको नभई आवश्यकताअनुसार परिमार्जन र परिष्कृत भएर पुनः आउन सक्ने स्पष्ट पार्नुभयो।
इन्द्रावती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्य ले संस्थाको कामप्रति सन्तुष्टि व्यक्त गर्दै रेष्टले समुदायमा सकारात्मक प्रभाव छोडेको बताउनुभयो। संस्थाका कार्यक्रम छिट्टै फेज आउट हुन सक्ने चर्चा चलिरहेका बेला अब त्यसपछि कसले सहयोग गर्ला भन्ने चिन्ता अहिले नै बढ्न थालेको उहाँले उल्लेख गर्नुभयो। यस विषयमा गाउँपालिकाले पनि सोच्नुपर्ने अवस्था आएको बताउँदै आवश्यक परे दातृ निकायहरूसँग समेत छलफल गर्न आफूहरू तयार रहेको उहाँको भनाइ थियो। उहाँले संस्थाले गरेका कामहरू गाउँपालिका र लाभग्राहीहरूले भविष्यसम्म पनि सम्झिरहने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, पैरवी समूह सिन्धुपाल्चोकका यज्ञ दङ्गाल ले संस्थाले पालिकासँग समन्वय गरेर काम गरिरहेको बताउँदै कार्यक्रमको दीर्घकालीन निरन्तरताका लागि पालिकाले बजेट व्यवस्थापन गर्नुपर्ने धारणा राख्नुभयो।
प्रधानाध्यापकहरूको तर्फबाट मन्तव्य राख्दै भिमेश्वरी माध्यमिक विद्यालय का प्रधानाध्यापक कृष्णप्रसाद श्रेष्ठ ले रेष्टको कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो। यस कार्यक्रमले धेरै बालबालिकालाई शिक्षाबाट वञ्चित हुनबाट जोगाएको भन्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा संस्थाका जिल्ला कार्यक्रम संयोजक कुमार भट्टराईले स्वागत मन्तव्य राख्दै इन्द्रावती गाउँपालिकामा रेष्टले सञ्चालन गरेका कार्यक्रम, उपलब्धि र प्रभावबारे जानकारी गराउनुभएको थियो।

