मौसम पूर्वानुमान र जलवायु आँकलनसम्बन्धी कार्यशाला सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची, सिन्धुपाल्चोक, जेठ १९, २०८३

मेलम्ची नगरपालिकामा मौसम पूर्वानुमान र जलवायु आँकलनसम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ। नेपाल सरकारको जल तथा मौसम विज्ञान विभाग र मेलम्ची नगरपालिकाको संयुक्त आयोजनामा तथा RIMES (Regional Integrated Multi-Hazard Early Warning System) को सहयोगमा आयोजित कार्यशाला बिहान ९ बजेदेखि सुरु भएको थियो। कार्यशालाको उद्घाटन सत्रको अध्यक्षता मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गर्नुभएको थियो।

कार्यक्रममा RIMES नेपालका लागि कार्यक्रम प्रमुख पूजा शाक्यले संस्थाको परिचय दिँदै RIMES ले मौसम तथा जलवायुसम्बन्धी डाटा संकलन, पूर्वानुमान प्रणाली विकास तथा समुदायस्तरमा क्षमता अभिवृद्धिका लागि विभिन्न देशमा काम गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार हाल यो परियोजना तीन देशमा सञ्चालन भइरहेको छ र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउँदै समुदायसम्म प्रभावकारी रूपमा पुर्‍याउने उद्देश्य राखिएको छ।

कार्यशालाको प्राविधिक सत्रमा जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंले मौसम पूर्वानुमान के हो, कसरी गरिन्छ, मौसम केन्द्र तथा उपकरणहरूको भूमिका, तथ्याङ्क संकलन प्रक्रिया र विज्ञानलाई समाजसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्रस्तुति दिनुभयो। कार्यक्रममा बोल्दै नगर प्रमुख आइतमान तामाङले विपद् तत्काल घट्ने घटना भएकाले पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। विगतमा विपद्को पूर्वसूचना प्राप्त गर्न कठिन भए पनि अहिले प्रविधिको विकाससँगै सहज भएको उल्लेख गर्दै मनसुन नजिकिँदै गर्दा नागरिकको सुरक्षा र जोखिम न्यूनीकरणका लागि नगरपालिका सक्रिय रहेको जानकारी दिनुभयो। उहाँले विपद् पूर्वतयारीका क्षेत्रमा RIMES ले पुर्‍याएको योगदानको प्रशंसा पनि गर्नुभयो। दोस्रो सत्रमा मौसमविद् सुदर्शन हुमागाईंले जल तथा मौसम विज्ञान विभागका कार्यक्षेत्र तथा पूर्वसूचना प्रणालीबारे विस्तृत जानकारी दिनुभयो। उहाँले वर्षा, बाढी, पहिरो, खडेरीलगायत प्राकृतिक प्रकोपको आँकलन गर्न विभिन्न उपकरण तथा प्रणालीको प्रयोग गरिने बताउनुभयो। उहाँले विभागले प्रदान गर्ने सेवाहरूमा ३ दिने मौसम पूर्वानुमान, साप्ताहिक मौसम पूर्वानुमान, प्रमुख २० शहरको मौसम पूर्वानुमान, स्थानविशेष पूर्वानुमान, उच्च पहाडी तथा हिमाली क्षेत्रको मौसम पूर्वानुमान, शीतलहर बुलेटिन, विशेष मौसम बुलेटिन, प्रभावमा आधारित मौसम पूर्वानुमान, ऋतुगत जलवायु आँकलन, बाढी पूर्वानुमान तथा आकस्मिक बहाव जोखिम पूर्वानुमान लगायतका सेवा रहेको जानकारी दिनुभयो।

कार्यक्रममा विभागका मौसमविद् संघरत्न शाक्यले नेपालका मौसम विज्ञान स्टेशन तथा डाटा व्यवस्थापन प्रणालीबारे जानकारी दिनुभयो। उहाँका अनुसार हाल नेपालभर ३८० वटा स्वचालित मौसम विज्ञान स्टेशन सञ्चालनमा छन् भने स्वचालित र म्यानुअल गरी कुल ५८१ वटा स्टेशनबाट मौसमसम्बन्धी तथ्याङ्क संकलन गरिन्छ। स्वचालित उपकरणले अत्यधिक वर्षा तथा तापक्रमका अवस्थालाई छिटो पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो। दिउँसोको सत्रमा ऋतुगत जलवायु आँकलन, सम्भाव्यता, मनसुन आगमन तथा बहिर्गमनसम्बन्धी विषयमा छलफल गरिएको थियो। सहभागीहरूलाई चार समूहमा विभाजन गरी मनसुन ऋतुको जलवायु आँकलन, वर्षाले कृषिमा पार्ने प्रभाव, आर्द्रता तथा तापक्रमको असर र जोखिम न्यूनीकरणका उपायबारे समूहगत अभ्यास तथा प्रस्तुति गराइएको थियो। साथै मनसुनजन्य सम्भावित क्षति र पूर्वतयारीका विषयमा पनि समूहगत छलफल सम्पन्न गरिएको थियो।

समापन समारोहमा सहभागी मैना कुमारी पण्डितले पूर्वसूचना प्रणाली तथा सरकारी वेबसाइटमार्फत मौसमसम्बन्धी जानकारी प्राप्त गर्ने तरिकाबारे सिक्न पाएको अनुभव साझा गर्नुभयो। उहाँले पूर्वसूचना प्रणालीसँग सम्बन्धित स्टेशनहरूको संरक्षण र व्यवस्थापनमा सरकारको ध्यान आवश्यक रहेको बताउनुभयो। अर्का सहभागी अमरनाथ आचार्यले विगतमा मौसम विभागका पूर्वानुमानप्रति विश्वास कम भए पनि अहिले जनविश्वास बढ्दै गएको बताउनुभयो। किसानहरू प्रकृतिसँग अनुकूलित हुँदै मौसमजन्य सूचनाको महत्व बुझ्न थालेको उहाँको भनाइ थियो।

समापन समारोहमा बोल्दै मौसमविद् संघरत्न शाक्यले आगामी दिनमा पूर्वसूचना प्रणालीलाई अझ सुदृढ बनाउन आवश्यक रहेको बताउनुभयो। कार्यक्रमको समापन गर्दै मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले मौसम विज्ञान विभागबाट सूचना प्राप्त भए पनि त्यसलाई व्यवहारमा लागू गर्ने पक्ष कमजोर रहेको बताउनुभयो। पूर्वसूचना आए पनि नागरिकस्तरमा पर्याप्त सचेतना नहुँदा विभिन्न विपद्का घटना दोहोरिने गरेको उल्लेख गर्दै भौगोलिक विकटताका कारण पूर्वसूचना प्रणालीको प्रभावकारी कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो। उहाँले RIMES को सहयोगमा आयोजित यस्ता कार्यक्रमले समुदायमा सचेतना वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई नगरपालिकाले प्राथमिकता दिने बताउनुभयो।

कार्यशालामा हेलम्बु गाउँपालिका, इन्द्रावती गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका तथा मेलम्ची नगरपालिकाका जनप्रतिनिधि, विपद् फोकल पर्सन, कृषि क्षेत्रमा कार्यरत व्यक्ति, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

Leave a Reply