इन्द्रावती । शैक्षिक अभियन्ता तथा समाजसेवी मोहनबहादुर गिरीद्वारा सञ्चालन गरिएको गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्ने अभियान अन्तर्गत आज इन्द्रावती गाउँपालिकाका तीन विद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ। वडा नं. १० स्थित सूर्योदय आधारभूत विद्यालय तथा वडा नं. ९ स्थित सिपातिनधारा जनता माध्यमिक विद्यालय र जलेश्वरी आधारभूत विद्यालयका विद्यार्थी तथा शिक्षकहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको हो।
सिपातिनधारा जनता माध्यमिक विद्यालयमा आयोजित औपचारिक कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. ९ का अध्यक्ष बाबुराम लामाले विद्यालयले भुल्नै नसक्ने प्रकारको कार्यक्रम भएको बताउनुभयो। देश परिवर्तन गर्न सक्ने बालबालिकाको भविष्यका लागि देखाइएको सद्भावप्रति आभार व्यक्त गर्दै उहाँले यसलाई ठूलो सहयोगको रूपमा लिनुपर्ने धारणा राख्नुभयो। बालबालिकाको उज्ज्वल भविष्यको कामनासहित सञ्चालन गरिएको कार्यक्रमले विद्यालयको अक्षय कोषलाई समेत मजबुत बनाउन सहयोग पुगेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो। साथै आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने अपेक्षा राख्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति प्रकाश मैनालीले विद्यालयको अक्षय कोषमा थप आर्थिक सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि समाजसेवी मोहनबहादुर गिरीले यो अभियान अन्तर्गत ४१ औँ विद्यालयमा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो। कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको बताउँदै उच्च शिक्षाका लागि आर्थिक अभाव बाधक बन्न नदिन आफू सहयोगका लागि सधैं तयार रहेको उल्लेख गर्नुभयो।
उहाँले सूर्योदय आधारभूत विद्यालयमा गर्मी मौसममा विद्यार्थी तथा शिक्षकहरूले भोग्ने समस्यालाई ध्यानमा राख्दै विद्यालयमा पंखाको व्यवस्था गरिदिने प्रतिबद्धता समेत जनाउनुभयो। साथै स्वास्थ्यसम्बन्धी समस्या परेमा पनि सहयोगका लागि सम्पर्क गर्न आग्रह गर्नुभयो।
त्यसैगरी सिपातिनधारा जनता माध्यमिक विद्यालयमा अक्षय कोष स्थापना गर्दै रु. ५५,५५५ आर्थिक सहयोग प्रदान गर्नुभएको थियो। शिक्षा बिना कुनै पनि क्षेत्रमा उचित स्थान प्राप्त गर्न कठिन हुने भएकाले गाउँपालिकाका कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नदिन अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो। प्राविधिक विषय अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई सहयोग गरिरहेको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आर्थिक अवस्था कमजोर भएकै कारण कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नहुने धारणा राख्नुभयो।
कार्यक्रमका विशेष अतिथि तथा इन्द्रावती गाउँपालिका वडा नं. २ का अध्यक्ष श्यामबहादुर गिरीले २०७९ सालदेखि सुरु भएको अभियान गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा सञ्चालन गर्ने लक्ष्यअनुसार अघि बढिरहेको बताउनुभयो। सहयोग धनले मात्र नभई मनले गरिने कार्य भएको उल्लेख गर्दै समाजमा यस्ता सहयोगी मनहरूको जन्म हुन आवश्यक रहेको धारणा राख्नुभयो। इन्द्रावती गाउँपालिकाको दुर्गम क्षेत्र झोलुङ्गेका विद्यार्थीहरूलाई सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको उहाँको भनाइ थियो।
जलेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक रामशरण नेपालले पोशाक वितरण कार्यक्रमले विद्यालय र विद्यार्थीहरूको शैक्षिक प्रगतिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै सहयोगी व्यक्तित्वहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
सिपातिनधारा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्रकुमार तामाङले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयलाई प्रविधिमैत्री बनाउन सके शिक्षण सिकाइ प्रक्रिया अझ प्रभावकारी हुने बताउनुभयो। अङ्ग्रेजी भाषामार्फत शिक्षणलाई थप सुदृढ बनाउन आवश्यक रहेको उल्लेख गर्दै अभियानमार्फत विद्यालयलाई समेटी सहयोग गरेकोमा आभार व्यक्त गर्नुभयो।
यसैबीच, सूर्योदय आधारभूत विद्यालयमा आयोजित कार्यक्रम भोटसिपा गाविस–१० का अध्यक्ष मोतीलाल माझीको सभापतित्व र वडा नम्बर १० का अध्यक्ष रामचन्द्र घिमिरे को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा वडा नम्बर १० का वडा सदस्य हेमन तामाङ विद्यालयका विद्यार्थी अभिभावक तथा शिक्षकहरूको उपस्थिति रहेको थियो। साथै विद्यालयका शिक्षक अमृता सुनारले स्वागत मन्तव्य व्यक्त राख्नुभएकाे थियो।
