देउराली–पोखरे खण्डमा कालोपत्रे सुरु, स्थानीय उत्साहित

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्लाको बहुप्रतिक्षित चौतारा–सिपाघाट–कात्तिके–काठमाडौं सडकअन्तर्गत देउराली–पोखरे खण्डमा कालोपत्रे गर्ने काम सुरु भएको छ।

राजधानी काठमाडौंसँग छोटो दूरीमा जोड्ने लक्ष्यसहित निर्माण भइरहेको यस सडकको कालोपत्रे हुन बाँकी देउरालीदेखि झ्याँडीसम्मको १२ किलोमिटर सडकखण्डमध्ये हाल देउरालीदेखि पोखरेसम्म करिब २ किलोमिटर क्षेत्रमा कालोपत्रे कार्य तीव्र रूपमा अघि बढाइएको हो। निर्माण व्यवसायीका अनुसार हाल भइरहेको काम सम्पन्न भएपछि पूर्वाधार विकास कार्यालयले आवश्यक सहजीकरण गरेमा ज्यामिरेमाने हुँदै झ्याँडीसम्मको बाँकी सडक निर्माण कार्यलाई समेत निरन्तरता दिइनेछ। सडक निर्माणले स्थानीयवासीलाई यातायात, व्यापार, कृषि उपज ढुवानी तथा पर्यटन प्रवर्द्धनमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

यो सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि चौतारा–सिपाघाट–कात्तिके हुँदै काठमाडौंसम्मको दूरी करिब ५८ किलोमिटर मात्र रहने बताइएको छ, जसले सिन्धुपाल्चोकलाई राजधानीसँग जोड्ने सबैभन्दा छोटो र सहज मार्गका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ। हालका संघीय सांसद तथा बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालको पहलमा सुरु भएको उक्त सडक योजना बागमती प्रदेशको प्रदेश यातायात गुरुयोजनाअन्तर्गत प्रदेश गौरवको योजनामा समेत समावेश रहेको छ।

स्थानीयवासीले सडक निर्माणलाई जिल्लाको विकाससँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण पूर्वाधार परियोजनाका रूपमा लिएका छन्।

Leave a Reply