बुढीचौर ।
दोस्रो ऐतिहासिक इन्द्रावती बुढीचौर नयाँ वर्ष सांस्कृतिक मेला २०८३ भव्यताका साथ सम्पन्न भएको छ। सिर्जनशील युवा समाजको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य युवराज दुलालले विकासका लागि समन्वय र सहकार्य अपरिहार्य रहेको बताउँदै विरोधले मात्र विकास सम्भव नहुने धारणा व्यक्त गर्नुभयाे । उहाँले आफू क्षेत्र भरिकै प्रतिनिधि भएकाले सबै स्थानलाई समान रूपमा विकास गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयाे ।
उहाँले इन्द्रावती गाउँपालिका सबैभन्दा बढी बजेट ल्याउन सफल पालिकामध्ये एक रहेको उल्लेख गर्दै शिक्षा, खेलकुद र सडक लगायतका क्षेत्रमा योजनाहरू सुरु भइसकेको र बाँकी काम पूरा गर्न आफू तयार रहेको बताउनुभयाे । साथै बुढीचौर क्षेत्रमा संरचना निर्माणका लागि आफू सुरु देखिनै सक्रिय रूपमा लागेको उल्लेख गर्दै डीपीआर अनुसार योजनाबद्ध विकासका लागि सबैको साथ, सहयोग र प्रयास आवश्यक रहेको बताउनुभयाे ।
इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कानाथ नेपालले कार्यक्रमको अवसरमा आफ्नो भनाइ राख्दै बुढीचौर वडा नम्बर ९ र १० को सिमानामा पर्ने भएपनि गाउँपालिकाको एउटा पर्यटकीय सम्भावना बोकेको स्थल भएकोले यसलाई विकास गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो। साथै गाउँपालिकाको विकासको लागि स्पष्ट दृष्टिकोणसहित आफू अघि बढेकोले यस्ता गाउँपालिकाकै गौरव बढाउने स्थलहरूको विकासमा पछि पर्न नहुने धारणा राख्नुभयो ।
वडा नम्बर ५ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता शशीनाथ आचार्यले सबै एकजुट भएर अघि बढे मात्रै गाउँपालिकाको सम्भव हुने धारणा राख्नुभयो।
कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष रामचन्द्र घिमिरे ले बुढीचौरलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न सके आम्दानीको मुख्य स्रोत बन्न सक्ने बताउनुभयाे । उहाँले यहाँ थप संरचना निर्माण हुन बाँकी रहेको र बुद्ध तथा शिवको मूर्ति निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयाे ।।
वडा नम्बर ९ का अध्यक्ष बाबुराम लामा ले यस क्षेत्रमा यस्तो चहलपहल हुनु गौरवको विषय भएको बताउनुभयाे । उहाँले अपुरा संरचना पूरा गर्दै कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको धारणा राख्नुभयाे ।
कार्यक्रममा इन्द्रावती गाउँपालिका वडा नम्बर १० का पूर्व अध्यक्ष जीवनकुमार थापा मगरले बुढीचौरको विकासका लागि संघीय सांसद प्रदेश सांसद र पालिकाले भरपर्दो साथ नदिएको बताउनुभएको छ । संघीय र प्रदेश सभामा निर्वाचित माननीयहरूले ठूला योजनाहरूलाई छाडेर सानातिना योजनातर्फ केन्द्रित भएको पनि बताउनुभएको हो। आगामी दिनमा यस क्षेत्रबाट निर्वाचित संघीय सांसद प्रदेश सांसद र पालिका तथा वडाले बुढीचौरको विकास र प्रवर्द्धनका लागि बजेट व्यवस्थापन गरी तदारुक्ताका साथ काम गर्नुपर्ने बताउनुभयाे ।
कार्यक्रममा घमेश दुलाल, हरि थापा, शारदा रसाइली, गंगा सोनाम, सुमिनालो तथा सञ्जीव घिसिङ लगायत कलाकारहरूले सांगीतिक प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।
