शिक्षामा सुधारका लागि मेलम्ची–१० गर्‍यो महत्वपूर्ण शैक्षिक निर्णय, कक्षा ५ सम्म अंग्रेजी माध्यम लागू हुने

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची । हिरादेवी आधारभूत विद्यालय, मेलम्ची–१० मा वडा शिक्षा समिति मेलम्ची–१० को आयोजनामा महत्वपूर्ण शैक्षिक बैठक सम्पन्न भएको छ । बैठकले शैक्षिक सत्र २०८३ देखि कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका सबै विद्यालयहरूमा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने ऐतिहासिक निर्णय गरेको छ ।

यस निर्णयले स्थानीय तहको शिक्षालाई प्रतिस्पर्धी, आधुनिक र प्रभावकारी बनाउने विश्वास गरिएको वडा अध्यक्ष अमृत खनालले बताउनुभयो । साथै, विद्यालयहरूलाई आवश्यक पर्ने पाठ्यपुस्तक तथा होमवर्क डायरी खरिदका लागि वडा कार्यालयबाट आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।

विद्यार्थीहरूको ड्रेस, जुत्ता, मोजा, टाइ, बेल्ट तथा परिचयपत्र व्यवस्थापन सम्बन्धमा अभिभावकहरूलाई जानकारी गराउन अभिभावक भेला आयोजना गरिने र उक्त व्यवस्था सबै विद्यालयमा अनिवार्य रूपमा लागू गरिने सहमति भएको छ ।
शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि २०८३ वैशाखको पहिलो हप्तादेखि अंग्रेजी माध्यममा अध्यापन सम्बन्धी तालिम सञ्चालन गर्ने निर्णय गरिएको छ ।

साथै, विद्यालयमा नियमितता र अनुशासन कायम गर्न तथा अभिभावकहरूको सक्रिय सहभागितामा विद्यालय सुधार कार्यक्रम अघि बढाइने निर्णय गरिएको वडा अध्यक्ष तथा वडा शिक्षा समितिका संयोजक अमृत खनालले बताउनुभयो । अंग्रेजी माध्यमलाई व्यवस्थित र प्रभावकारी रूपमा कार्यान्वयन गर्न पाँच सदस्यीय तयारी समिति पनि गठन गरिएको छ ।

यस्ता निर्णयहरूले मेलम्ची–१० को शिक्षा क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास लिइएको अध्यक्ष खनालले बताउनुभयो । वडा भित्रका तथा बाहिरी क्षेत्रका अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकका विद्यालयहरूमा भर्ना गराउन आग्रह गरिएको छ ।
बैठकमा वडा अन्तर्गत सञ्चालनमा रहेका सबै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Leave a Reply