इन्द्रावतीमा पालिकास्तरीय अनुकूलन कार्ययोजना निर्माणका लागि दुई दिने कार्यशाला सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक

नवलपुर । सामुदायिक रूपान्तरणका लागि जलवायु तथा वातावरणीय जोखिम सम्बोधन गर्न पूर्वानुमानमा आधारित कार्यहरूको प्रवर्द्धन परियोजना (PROACT) अन्तर्गत इन्द्रावती गाउँपालिकामा पालिकास्तरीय अनुकूलन कार्ययोजना निर्माणका लागि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

गोष्ठीमा यसअघि काभ्रेको पनौती तथा इन्द्रावती गाउँपालिकाका विभिन्न वडाबाट प्रस्ताव भएका कार्यक्रमहरुको ड्राफ्टमाथि छलफल गर्दै योजनाहरूको प्राथमिकीकरण गरिएको छ। वडा तहबाट आएका योजना तथा सुझावलाई समेटेर गाउँपालिकास्तरीय कार्ययोजनालाई अन्तिम रूप दिने विषयमा समेत छलफल भएको थियो।

गाउँपालिका अध्यक्ष झम्क नेपालले परियोजनालाई व्यवहारमा कार्यान्वयन गर्न कार्यशाला आयोजना गरिएको बताउनुभयो। वडा तहमा LAPA निर्माणको काम सम्पन्न भइसकेको उल्लेख गर्दै उहाँले प्राथमिकताका आधारमा योजनाहरू कार्यान्वयनमा लैजान सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।

परियोजना सँग जलवायु परिवर्तन सम्बन्धि बिषय स्थानीय पाठ्यपुस्तकमा पनि समावेश गर्ने योजनासमेत कार्ययोजनामा समेटिएको उहाँको भनाइ थियो।

कार्यक्रमका सभापति रामजी थापाले गाउँपालिकाका सबै वडा तथा सरोकारवालाले कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्रिय सहभागिता जनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यशालामा आयोजक संस्था सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च नेपाल (CDECF Nepal) का कार्यक्रम व्यवस्थापक इन्जिनियर मिनेश गुरुङले सहजीकरण गर्नुभएको थियो। उहाँले समुदायले योजनालाई राम्रोसँग नबुझेमा त्यसको कार्यान्वयन दिगो हुन नसक्ने भएकाले व्यापक छलफल आवश्यक रहेको बताउनुभयो।

LAPA अन्तर्गत रहेका आठवटा क्षेत्रको आवश्यकता र प्राथमिकतामा आवश्यक थपघट गरी विज्ञहरूको सुझावका आधारमा योजनालाई परिमार्जन गरिने गुरुङले जानकारी दिनुभयो। इन्द्रावती क्षेत्रमा पानीका मुहान सुक्नु प्रमुख समस्याका रूपमा देखिएको भन्दै उहाँले प्रकृतिमा आधारित समाधानका उपायलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

कार्यशालामा स्थानीय अनुकूलन कार्ययोजना र अन्य विकास योजनाबीचको एकीकरण, प्राथमिकता तथा कार्यान्वयनको क्रमबारे समेत छलफल भएको थियो। तत्कालीन, अल्पकालीन, मध्यकालीन तथा निरन्तर रूपमा सञ्चालन गर्नुपर्ने योजनाका साथै संरचनात्मक कार्यक्रमलाई प्राथमिकताका आधारमा अघि बढाउने विषयमा सहभागीहरूले सुझाव दिएका थिए।

नेपाल सरकारका पूर्वसचिव पुरुषोत्तम घिमिरेले दीर्घकालीन, आवधिक तथा राष्ट्रियस्तरका वार्षिक योजना र जलवायु अनुकूलन योजनाबीचको फरक अवधारणाबारे प्रस्तुति दिनुभएको थियो। त्यस्तै, विषयविज्ञ मोहनदास मानन्धरले पानीका स्रोतमा आधारित मतभेद तथा शान्ति निर्माण, समुदायमा संवाद, सहमति र सहकार्यका विषयमा सहजीकरण गर्नुभएको थियो।

LAPA मा आठवटा प्रमुख क्षेत्र समेटिएको र गाउँपालिकामा रहेका पाँचवटा विकासका क्षेत्रसमेत यसैसँग जोडिने जनाइएको छ। परियोजनाले इन्द्रावती गाउँपालिकाभित्र विपद् व्यवस्थापन तथा जलवायुजन्य कृषिको क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने आयोजकले जनाएको छ।

कार्यशालाका क्रममा सहभागीहरूलाई समूहगत छलफलमा सहभागी गराई योजनामा थप्नुपर्ने विषय तथा आवश्यक संशोधनबारे सुझाव संकलन गरी प्रस्तुत गरिएको थियो।

परियोजनाको समग्र रूपरेखाबारे जानकारी गराउनुका साथै योजनामा थपघट गर्नुपर्ने विषयमा व्यापक छलफल गर्दै दुई दिने कार्यशाला सम्पन्न गरिएको आयोजक संस्था सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च नेपालका कार्यकारी निर्देशक गोविन्द सापकोटाले जानकारी दिनुभयो।

दुई दिने कार्यशालामा गाउँपालिका अध्यक्ष झम्कानाथ नेपाल, उपाध्यक्ष शोभाना तामाङ, विभिन्न वडाका वडा अध्यक्ष कार्यपालिका सदस्य तथा वडा सदस्यहरू, गाउँपालिकाका विभिन्न शाखाका शाखा प्रमुख लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो।

Leave a Reply