इन्द्रावती -५ का किसानहरुको लागि मिनि टिलर र बाख्रा वितरण

* # समाचार समाज सिन्धुपाल्चोक

बाँडेगाउँ ।

इन्द्रावती गाउँपालिका वडा नम्बर ५ ले वडाभित्रका १३ जना कृषकहरूलाई एकसाथ मिनीटिलर वितरण गरेको छ । त्यस्तै ३० जनालाई उन्नत जातको बाख्रा पनि वितरण गरेको छ । वडा कृषि उत्पादनमा आत्मनिर्भरता तर्फको यात्रामा अघि बढ्ने क्रममा आर्थिक वर्ष २०८१÷८२ को स्वीकृत कार्यक्रम अन्तर्गत मिनी टिलर ४० प्रतिशत र बाख्रा ७५ प्रतिशत अनुदानमा वितरण गरेको वडा अध्यक्ष शशीनाथ आचार्यले जानकारी दिनुभयो ।

उक्त अवसरमा आफ्नो भनाई राख्दै वडाध्यक्ष आचार्यले वितरित कृषि यन्त्र मिनी टिलरको सही सदुपयोग गर्न र छरछिमेकमा समेत फाइदा पुग्ने गरी प्रयोग गर्न सुझाव दिनुभयो । साथै वडाले यसभन्दा अगाडि वितरण गरिएका ट्याक्टरहरू दुरुपयोग भएको पाइएकोले त्यसो नगर्न र त्यसो गरेको पाइएमा वडा तथा पालिकाबाट पाउने सेवा सुविधाबाट वञ्चित हुनपर्ने पनि बताउनुभयो । वडाबाट वितरण गरिएका उक्त सामग्रीहरूको भरपुर सदुपयोग गरी अधिकतम व्यवसायिक हुने तरिकाले प्रयोगमा ल्याउन उहाँले सुझाव दिनुभयो ।

साथै गाउँपालिका कृषि शाखा प्रमुख रविना कोजुले ट्याक्टर प्राप्त गरेका किसानहरूलाई ट्याक्टरको उपयोगिता प्रयोग विधि लगायत मर्मत सम्भारको बारेमा जानकारी गराउनु भएको थियो ।

लक्षित वर्ग आयआर्जन कार्यक्रम अन्तर्गत वितरण गरिएको उक्त बाख्रा वडाका दलित, जनजाति र महिलाहरूले पाएका छन् ।
उक्त अवसरमा वडाध्यक्ष शशीनाथ आचार्य, कार्यपालिका सदस्य तथा वडा सदस्य सीता तिरुवा, वडा सदस्य कृष्णप्रसाद सन्जेल, गाउँपालिकाका कृषि शाखा प्रमुख रविना कोजु, वडाका वडा सचिव स्नेहा बुढा मगर, कृषि प्राविधिक नवराज कटुवाल र किसानहरू लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply