मेलम्ची ।
मेलम्ची नगरपालिकाले केही अनलाइन सञ्चारमाध्यममार्फत नगरपालिका र नगरवासी जनप्रतिनिधिहरूको चरित्र हत्या गर्ने गरी भ्रामक र तथ्यहीन समाचार प्रकाशित तथा प्रशारण भएको प्रति गम्भीर आपत्ति जनाएको छ।
नगरप्रमुख आइतमान तामाङ द्धारा हस्ताक्षरित पत्रमा महालेखा परीक्षकको कार्यालयबाट नगरपालिकामा भएको लेखापरीक्षण र अनुगमनलाई गलत ढंगबाट प्रस्तुत गरिएको भन्दै खण्डन गरिएको छ । उहाँले नगरपालिकाका जनप्रतिनिधिहरूमाथि अनावश्यक रूपमा चरित्र हत्या हुने गरी समाचार सम्प्रेषण हुनु गम्भीर विषय भएको जानकारी दिनुभयो ।
पत्रमा जनप्रतिनिधिहरूको चरित्र हत्या हुने गरी भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह गर्दै सत्य तथ्य प्रमाणसहित मात्रै समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीहरूलाई अनुरोध गरिएको छ । सार्वजनिक महत्वका विषयमा भ्रामक र नियतवश गरिएको गलत प्रचारमा संलग्न व्यक्ति र संचार माध्ययमलाई आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपाल लाई पत्राचार गरिएको छ।
नगरपालिकाले पत्रमार्फत वागमति भ्वाइस, नेपाली जनता र विमा पोष्ट लगायतका अनलाइनहरु सञ्चारमाध्यमलाई औपचारिक रूपमा सचेत गराएको छ । भ्रामक समाचार प्रति यसअघि नै नगरप्रमुखको सचिवालय मार्फत नगरवासिलाई यथार्थ प्रष्टिकरण गरिसकिएको छ ।