बाह्रबिसे -तातोपानी सडक खण्डको छ्याक्सा नजिकै भोटेकोसी नदीमा खसेको बोलेरो निकालिएको छ । नदीमा खसेको ७ घण्टापछि क्षतिग्रस्त अवस्थामा बोलेरो निकालिएको हो ।
बाेलेराे निकालिए पनि गाडी भित्र काेही पनि नभेटिएको प्रहरीले जनाएको छ । स्थानीयले गाडीका चालक र उक्त गाडीमा एक महिला सवार भएको बताएका छन् । उनीहरू बेपत्ता छन ।
प्रहरीका अनुसार क्षतिग्रस्त बा २० च २१८५ नं. को बोलेराेका चालक भोटेकोशी गाउँपालिका-५ बस्ने अन्दाजी ३८ वर्षीय सानु शेर्पा र बाहृबिसे नगरपालिका-९ बस्ने ३५ वर्षीया सुन्तली तामाङ सवार रहेकाे बताइएकाे छ। दुवै फोन सम्पर्कमा नआएको भनी आफन्त मार्फत् जानकारी पाइएको डीएसपी निरञ्जन भट्टराईले बताउनुभयाे ।
मध्यभोटेकोसी जलविद्युत आयोजनाबाट मगाइएको एउटा क्रेनबाट पटक-पटक प्रयास असफल भएपनि साँझपख बोलेरो नदीबाट निकालिएको छ । बेपत्ता दुवैको प्रहरीले शंकास्पद स्थानमा खोजी गरिरहेकाे छ ।
स्थानीय र आफन्तसँगको सोधपुछका आधारमा बोलेरो बिहीबार बेलुकानै सडकबाट नदीमा खसेर दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।