चाैतारा अस्पतालकाे आज प्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटन हुने

* # समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

मित्रराष्ट्र चीनको सहयोगमा निर्माण सम्पन्न सिन्धुपाल्चोक सदरमुकाम चौतारास्थित अत्याधुनिक अस्पतालको उद्घाटन गर्न लागिएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक समारोहबीच उद्घाटन गर्नुहुने बताइएको छ ।

२०७२ सालको महाभूकम्पमा ध्वस्त अस्पताल पुनर्निर्माणमा चीन सरकारको ६ करोड १० लाख चिनियाँ युआन (आरएमबी) अनुदान सहयोग प्रयोग भएको छ । ९ सेप्टेम्बर २०२२ मा निर्माण सुरु भएको चाइना एड सिन्धुपाल्चोक हस्पिटल रिकभरी प्रोजेक्ट इन नेपाल करिब १८ महिनाको छोटो अवधिमा निर्माण कार्य सम्पन्न भएको हो ।


चौतारा अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. रुद्रमणि भण्डारीका अनुसार अस्पताल भवन निर्माणका लागि सन् २०१८ अगष्ट १५ मा चीनको अर्थ मन्त्रालयअन्तर्गत एजेन्सी फर इन्टरनेशनल इकोनोमिक को–अपरेसन र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच काठमाडौंमा सम्झौता भएको थियो ।

५० शैयको सुविधा सम्पन्न अत्याधुनिक अस्पताल सेवाका लागि सम्पूर्णरुपमा तयार रहेको बताइन्छ । मेडिकल कम्प्लेक्स बिल्डिङ ९३ स्टोरिज, वाटरपम्प रुम, टेम्पोररी मेडिकल वेस्टेज रुम, जेनेरेटर सेड निर्माणसँगै मेडिकल उपकरण, फर्निचर र अस्पतालका लागि आवश्यक सर्जिकल सामग्री चीन सरकारले नै उपलब्ध गराएको हो । भ्याक्सिनेसन सेन्टर, पुलिस अफिस, फायर कन्ट्रोल सेन्टर, क्षयरोग र एड्स उपचार कक्ष पनि तयार भएका छन् ।

भुइँतलामा चार सय ५० केभी पावरको जेनेरेटर र मेडिकल वेस्ट वाटर प्रोसेसिङ उपकरण पनि जडान गरिएको छ । त्यस्तै फार्मेसी, दर्ता शाखा, परामर्श कक्ष, फिजियोथेरापी पुनर्वास कक्ष, पोषण भान्सा, ड्युटी रुम, बहिरंग बिरामी कक्ष, बालबालिका कक्ष, प्रयोगशाला, आकस्मिक कक्ष, नर्सिङ स्टेसन, ड्रेसिङ रुम, एक्सरे र भिडियो एक्सरे कक्ष पनि तयार भएका छन् ।

पहिलो तलामा नर्सिङ स्टेसन, २९ शैयाको अन्तरंग विभाग, क्लासरुम, सात शैयाको प्रसूति विभाग, दुई अपरेटिङ कक्ष, रिकभरी कक्ष, नवजात शिशु स्याहार मेसिन, फोटोथेरापी उपकरण, बालबालिका उपचार कक्ष, पुरुष र महिलाका लागि छुट्टाछुट्टै ड्रेसिङ कक्ष, मेडिकल स्टाफ आराम कक्ष छन् ।

दोस्रो तलामा प्रशासनिक कार्यालय, तालिम हल, गतिविधि कक्ष, अप्रेसन डिपार्ट, पुस्तकालय, सम्मेलन रुम, अस्पताल निर्देशक कक्ष र मेडिकल डकुमेन्ट रुम छन्। तेस्रो तलामा पानी प्रशोधन कक्ष जहाँ कार्बन र बालुवा फिल्टर मेसिन छन् । अप्रेसन कक्षका लागि स्वच्छ हावा तयार पार्ने मेसिन र दुईवटा ठूला लुगाधुने मेसिन राखिएका छन् ।

सबै तलामा अत्याधुनिक अपरेटिङ सिस्टम जडान गरिएको छ । नेपाल सरकारलाई औपचारिकरुपमा हस्तान्तरण गरेपछि पनि आगामी तीन वर्षसम्म चिनियाँ प्राविधिक टोली अस्पतालमै रहने छ । उनीहरूले मेसिन र अपरेटिङ सिस्टम सिकाउने बताइएको छ ।

भूकम्पपछि ध्वस्त चौतारा अस्पतालले करिब पाँच वर्ष टेण्टमा बिरामीको उपचार गरेको थियो । त्यसपछि बनाइएको अस्थायी संरचना प्रिफायब भवनभित्रबाट सेवा सञ्चालन हुँदै आएको छ ।

Photo By : #TimeWithPrabhat

Leave a Reply