रेडियो मिसन ।
मेलम्ची नगरपालिका न्यायिक समितिद्वारा आयोजित स्थानीय तहको विवाद, स्थानीय तहमै निरुपण हाम्रो अभियान स्थानीय तहको न्यायिक अधिकार सम्बन्धी जिल्ला स्तरीय २ दिने अन्तरक्रिया तथा अनुभव आदन प्रदान कार्यक्रमको मेलम्चीमा सुरु भएको छ ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले प्रशिक्षकहरुले विभिन्न विषयमा जानकारी गराउने र यसले न्यायिक कार्य र उपप्रमुखले गर्ने कार्यमा सहज हुने बिश्वास व्यक्त गर्नुभयो । उहाँले न्यायिक समितिलाई थप बजेट व्यवस्थापन गरेर अझ सहज बनाउन सहयोग गर्न आफू तयार रहेको बताउनुभयो ।
कार्यक्रमको उदेश्यबारे प्रस्ट पार्नु हुँदै न्यायिक समिति सदस्य श्रीकृष्ण श्रेष्ठले यस कार्यक्रमले अनुभव आदनप्रदान संगै कार्य सम्पादनका लागि थप सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कार्यक्रममा न्यायिक समितिले काम गर्दा भएका अप्ठेरो, नियम, कानुन लगायत विषयमा छलफल गरिने बताउनुभयो । कार्यक्रममा जिल्लाका १२ स्थानीय तहको उपप्रमुख लगायतको उपस्थिति रहेको छ ।
कार्यक्रममा बार एसोसिएसन उच्च अदालत पाटनका अध्यक्ष शान्तिराम खतिवडा, जिल्ला अदालत सिन्धुपाल्चोकका श्रेस्तेदार अक्षयकुमार दनुवार लगायतले सहजीकरण गर्नुहुनेछ । कार्यक्रममा जिसस सदस्य अम्बिका बस्नेत, मेलम्ची नगरपालिकाकि पुर्व उपप्रमुख भगवती नेपाल लगायतको उपस्थिति रहेको छ ।