रेडियो मिसन ।
व्यवसायीहरूको छाता संगठन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ११ औँ अधिवेशन नजिकिएसँगै नेतृत्वका लागी रस्साकस्सी बढ्दै गएको छ । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अध्यक्ष पदसहित वरिष्ठ उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, सचिव पदाधिकारी र १५ सदस्य पदको लागि आगामी १० गते निर्वाचन हुँदैछ ।
सोमबार अध्यक्ष पदको लागि शम्भुबहादुर तिमल्सिना, सुमन खत्री र बुद्धराज बस्नेतले उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेद्वारी दिनुभएका तीनै जना मित्र राष्ट्र चीनबाट सामान आयात गर्ने व्यवसायी हुन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा विदुर पराजुलीले उम्मेदवारी दिनुभएको छ । सोमबार प्रथम उपाध्यक्षको पदमा उम्मेदवारी दिएका भेषबहादुर बस्नेत राजेन्द्र निर्विरोध निर्वाचित हुनुभएको छ।
त्यस्तै तृतीय उपाध्यक्ष, महासचिव सह कोषाध्यक्ष र दुई सदस्यमा आफ्नो मनोनयन दर्ता गराएका उम्मेदवार भने सर्वसम्मत निर्वाचित भएको उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकमा अध्यक्ष होमबहादुर बस्नेत राजकुमारले बताउनुभयो ।
सोमबार उम्मेदवारी दर्ता गराएसँगै उम्मेदवारहरूले मतदातामा आफ्नो उपस्थितिलाई तिब्रता दिँदै आउनुभएको छ । सोमबार उम्मेदवारी दर्ता गराउनुभएका तीनै जना उम्मेदवारले मतदाता माझ आ आफ्नो एजेन्डा लिएर जान सुरु गरिसम्नुभएको छ। सोमबारदेखि निर्वाचनमा रस्साकस्सी बढ्दै गएपछि व्यवसायी र मतदाताको बाक्लो भेटघाट हुन थालेको छ ।
वरिष्ठ उपाध्यक्ष पदमा उमेशलाल प्रधान र सूर्य कार्कीबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै द्धितिय उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ र इन्द्रबहादुर राउतले उम्मेदवारी दिनुभएको छ। सचिवमा तिर्थराज पौडेल र मोहनभक्त श्रेष्ठ निर्वाचनमा होमिनुभएको छ । त्यस्तै १५ सदस्यका लागि ३२ जनाले उम्मेदवारी दिएका छन् ।
अध्यक्षको उम्मेदवार दिनुभएका तिमल्सिना हाल महासचिव हुनुहुन्छ। त्यस्तै खत्री मानार्थ उपाध्यक्ष भइसकेका व्यक्ति हुनुहुन्छ भने बस्नेत संघको ८ औँ अधिवेशनमा पुर्वअध्यक्ष कमलकुमार श्रेष्ठसँग अध्यक्ष पदमा पराजित हुनुभएको थियो। निर्वाचनमा २४५४ जनाले मतदान गर्न पाउने छन् ।