रेडियो मिसन ।
मोटरसाइकलमा सवार युवाको खानतलासी गर्दा इलाका प्रहरी कार्यालय बाह्रबिसेले एक केजी सुनजस्तो देखिने पहेँलो पदार्थ फेला पारेको छ । भे. ११ प ५५५८ नम्बरको सेतो एनएस मोटरसाइकलमा सवार भोटेकोसी वडा नं. ५ मार्मिङ निवासी २३ वर्षीय थार्चेन तेम्बा तामाङको पेटमा बाँधेर लुकाएको सो पदार्थ प्रहरीले बरामद गरेको हो ।
तातोपानी नाकाबाट सामान बोकेर ती युवा काठमाडौं आउँदै थिए। प्रहरी निरीक्षक देवेन्द्रराज जोशीको कमान्डमा रहेको प्रहरी टोलीले मोटरसाइकलसहित सो पदार्थ बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालयले बाह्रबिसेमा पत्रकार सम्मेलन गरेर मोटरसाइकलसहित ती युवालाई सार्वजनिक गरेको छ । सुनजस्तो देखिए पनि परीक्षण गर्दा सुन नभएको प्रमाणित भएको जोशीले बताउनुभयो । तामामा पहेँलो लेप लगाएको पुष्टि भएको छ । युवालाई थप अनुसन्धान गरिने उहाँले बताउनुभयो ।