रेडियो मिसन, नवलपुर ।
इन्द्रावती गाउँपालिकाले दादुरा रुबेला खोप अभियान २०८०/८१ को पालिका स्तरीय खोप समन्वय समितिको योजना तर्जुमा तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत राजाराम कार्कीले (भोलि) शुक्रवारबाट स्थानीय तह हरुमा खोप पठाइने जानकारी दिँदै खोप अभियानका लागी स्वास्थ्यकर्मीहरुहरुले प्रचारप्रसारमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले यस अभियानलाई सफल बनाउन स्थानीय, राजनीतिक दल, जनप्रतिनिधि लगायत सबैको सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा इन्द्रावती गाउँपालिकाका उपाध्यक्ष शोभना तामाङले लक्ष्य अनुसार खोप कार्यक्रम सफल हुने अपेक्षा गर्नुभयो । उहाँले जनप्रतिनिधिको कमजोरी औँल्याइदिएको प्रति ध्यानाकर्षण भएको भन्दै आगामी दिनमा अझै सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो । तामाङले प्रचारप्रसार गर्दै १४ गते बाट सुरु हुने कार्यक्रममा स्थानीय जनप्रतिनिधि सँग समन्वय गर्दै कार्यक्रमलाई सफल बनाउने गरि लाग्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले खोप कार्यक्रम देशको नियमित कार्यक्रम भएकाले खोपबाट निवारण गर्न सकिने रोगहरू बाट बच्न प्रभावकारी रहेको बताउनुभयो । उहाँले अहिले दादुरा र रुवेलाको भाइरस नियन्त्रण गर्न सकिए पनि २०२६ सम्म निवारण गर्ने लक्ष्य अनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभयो । दुलालले २०२६ भन्दा अगाडी नै इन्द्रावती गाउँपालिकाबाट यो रोग निवारण गर्ने लक्ष अनुसार लाग्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत दुलालले जिल्लामा आएका खोप खेर गइरहेको भन्ने सुन्नमा आउने गरेको भन्दै स्वास्थ्यकर्मिहरुले अलि चासो दिएर राज्यको लगानी खेर नजाने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । नेपालमा आउने खोपहरू विदेशबाट सहयोग र ऋणमा मात्र आउने गरेको जानकारी दिँदै उहाँले खर्च गर्नेतर्फ भन्दा पनि जोगाउने गरी काम गर्न सुझाव दिनुभयो । आर्थिक मन्दिले देशमा विकराल स्थिति सिर्जना हुनै लागिसकेको भन्दै उहाँले चालु खर्च गर्न सक्ने स्थिति नभएको बताउनुभयो । पूर्ण खोपमा जिल्लामा पहिलो हुने गरि काम गर्न उपस्थित स्वास्थ्यकर्मीहरुमा उहाँले आग्रह गर्नुभयो ।
जनप्रतिनिधि, गाउँपालिका भित्रका स्वास्थ्य क्षेत्रका कर्मचारी विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, सुरक्षानिकयका प्रतिनिधि पत्रकार लगायतको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाका अनिरुद्र तिमल्सिनाले गर्नुभएको थियो ।