रेडियो मिसन ,नवलपुर
नवलपुर माध्यमिक विद्यालयका तीन सय ४३ शिक्षक, विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको छ। श्री नवलपुर माध्यमिक विद्यालयको ७५ औँ वार्षिकोत्सव तथा अभिभावक भेलाको अवसरमा समाजसेवी तथा शैक्षिक अभियन्ता मोहन बहादुर गिरीले ३४३ सेट ट्रयाक सुट वितरण गर्नुभएको हाे । गिरीले आफ्नो निजी खर्च बाट नवलपुर माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षक तथा विद्यार्थीलाई ट्रयाकसुट वितरण गर्नुभएको हाे ।
नवलपुर माविकी शिक्षिका चित्रा खाेखालीकाे अनुरोधमा विद्यालयमा समाजसेवी गिरीले ट्रयाक सुट सहयोग गरेको विद्यालयका प्रधानाध्यापक धर्मकुमार खाेखालीले जानकारी दिनुभयाे । शैक्षिक गुणस्तर अभिवृद्धि होस भनेर आफूले विद्यालयमा शैक्षिक सामाग्रीहरू समेत वितरण गरिरहेको गिरीले बताउनुभयाे । शैक्षिक सामाग्री बितरण मात्र नभई जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षाका लागि सहयोग गर्दै आएको र अबका दिनमा पनि सहयोग गर्ने गिरीले प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
साे अवसरमा शैक्षिक क्षेत्रमा पुर्याएको योगदानकाे कदर गर्दै समाजसेवी मोहन बहादुर गिरिलाई विद्यालयले सम्मान गरेको थियो ।
गिरिले यसअघि इन्द्रावतीका करिव १५ वटा विद्यालयमा शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरिसक्नु भएको छ । इन्द्रावतीका ४४ जना शिक्षक शिक्षिका तथा १,५६७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री तथा न्यानो कपडा यसअघि वितरण गरिसकिएको छ । गाउँपालिका भरी क्रियाशील ४२ वटै विद्यालयमा शैक्षिक सामाग्री र न्यानो कपडा बितरण गर्ने योजना रहेको अभियन्ता गिरिले जानकारी दिनुभयो ।
इन्द्रावती २ पोखरे निवासी शैक्षिक अभियन्ता गिरी नेपाली कांग्रेसको क्षेत्रिय प्रतिनिधि समेत हुनुहुन्छ । गिरीले आफ्नो एकल लगानीमा श्री महेन्द्र माध्यमिक विद्यालय इन्द्रावती २, श्री सिंहमति मावि इन्द्रावती ३, श्री सेतिदेवी मावि इन्द्रावती ११ र इन्द्रावती गाउँपालिकामा क्रियाशील १० वटा आधारभूत विद्यालयमा शैक्षिक सामाग्री तथा न्यानो कपडा बितरण गरिसकेको इन्द्रावती २ का वडा अध्यक्ष श्याम बहादुर गिरीले जानकारी दिनुभयो ।