इन्द्रावती ४ मा रहेको नवलपुर माध्यमिक विद्यालयको ७५ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । आज एक कार्यक्रमका बिच विद्यालयले ७५ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री युवराज दुलालले शिक्षा दिने शिक्षकलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ । ढुङ्गामै शिक्षा लिएकाहरूको लडाइले आजको शिक्षा प्रणाली आएकाले शिक्षामा अझै धेरै काम बाँकी रहेको उहाँले बताउनुभयो । शिक्षक, अभिभावक, विद्यार्थी मिलेमा शैक्षिक गुणस्तर राम्रो हुने उहाँले बताउनुभयो । साथै विद्यालयलाई आफूले र प्रदेश सरकारको तर्फबाट सक्ने सहयोग गर्ने उहाँले बताउनुभयो । इन्द्रावतीको सर्वाङ्गीण विकासको लागि सहयोग गर्न तयार रहेको मन्त्री दुलालले बताउनुभयो । राजनीति भन्दा माथि उठेर हामीले सोच्न आवश्यक रहेको उहाँको भनाई थियो । सिंगो प्रदेश क्षेत्रलाई पक्की सडकले कसरी जोड्ने भनेर योजनावद्ध काम गरिरहेको मन्त्री दुलालले बताउनुभयो ।
कार्यक्रमका विषेश अतिथि इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले पालिकाका अरू विद्यालयका साथै जिल्लामै अब्बल विद्यालय बनाउन पालिकाको तर्फबाट निर्वाह गर्नुपर्ने भूमिका पुरा गर्ने बताउनुभयो । शिक्षाको विकास बिना अरू विकास सम्भव नभएकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले बताउनुभयो । शैक्षिक विकासका लागि पालिका सदैव सकारात्मक रहेको अध्यक्ष नेपालको भनाई थियो ।
कार्यक्रममा इन्द्रावती ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले शैक्षिक गुणस्तर उन्नति हुनुपर्छ भनेर कार्यक्रमहरू अघि बढाइएको बताउनुभयो । नवलपुर माविलाई उच्च प्राथमिकताका योजना बनाई राखेको उहाँले बताउनुभयो । निर्वाचित भएपश्चात भौतिक संरचनाको काम अघि बढेको, घेराबारकाे काम सकिएपनि खेलमैदान अझै बनाउन बाँकी रहेको उहाँले बताउनुभयो । विद्यालयमा अब प्राविधिक शिक्षाको ब्यवस्था गर्न आवश्यक रहेको उहाँले बताउनुभयो अध्यक्ष तामाङले शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि कार्यपालिका मार्फत छलफल गरेर योजना बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्यले राज्यले गरेको लगानी अनुसार प्रतिफल नपाएको बताउनुभयो । सामुदायिक विद्यालयमा विद्यार्थी घट्ने क्रममा रहेको उहाँले बताउनुभयो । सामुदायिक विद्यालयमा पढेका विद्यार्थी देशको माथिल्लो स्थानमा पुगेको उल्लेख गर्दै सामुदायिक विद्यालयहरू पनि अब्बल रहेको उहाँले बताउनुभयो ।
यस्तै वडा नम्बर २ का अध्यक्ष श्याम बहादुर गिरीले ३२ औँ कार्यपालिका बैठक सम्म १२ सम्म निशुल्क शिक्षा लागू गर्न पहल गर्ने बताउनुभयो । जिल्लाका अरु पालिकाहरूले निशुल्क गरेको उल्लेख गर्दै इन्द्रावतीमा पनि १२ कक्षासम्म निशुल्क शिक्षा हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सोही अवसरमा समाजसेवी तथा शैक्षिक अभियन्ता मोहन बहादुर गिरिले ३४३ सेट ट्रयाक सुट वितरण गर्नुभएको छ । उहाँले आफ्नो निजी खर्च बाट नवलपुर माध्यमिक विद्यालयका सम्पुर्ण शिक्षक तथा विद्यार्थीलाई ट्रयाकसुट वितरण गर्नुभएको हो । गिरिले इन्द्रावतीका करिव १५ वटा विद्यालयमा शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरिसक्नुभएको छ । इन्द्रावतीका ४४ जना शिक्षक शिक्षिका तथा १,५६७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री तथा न्यानो कपडा यसअघि वितरण गरिसक्नुभएको छ । गाउँपालिका भर क्रियाशील ४२ वटै विद्यालयमा शैक्षिक सामाग्री र न्यानो कपडा बितरण गर्ने योजना रहेको अभियन्ता गिरिले जानकारी दिनुभयो ।
कार्यक्रमको समापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर तामाङले शिक्षा बिना अपाङ्ग जस्तै हुने भएकाले शिक्षा पहीलो प्राथमिकतामा रहने उहाँले बताउनुभयो । शिक्षालाई बढाउँदै लैजाने कि घटाउने अभिभावक, शिक्षक र विद्यार्थीको हातमा रहेको बताउनुभयो । उहाँले विद्यालयको समस्या बोकेर बागमती प्रदेश पुग्दा युवराज दुलालले विद्यालयको घेराबारको लागि सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । यसले विद्यालयलाई सुरक्षित राख्नको लागि सहयोग पुगेको उहाँको भनाई थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेर बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरू, पूर्व जनप्रतिनिधिहरू, समाजसेवी, शिक्षा प्रेमी, राजनितिक दलका प्रतिनिधिहरू, छिमेकी विद्यालयका प्रधानाध्यापक तथा विव्यासका पदाधिकारीहरू, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रधानाध्यापक धर्म कुमार खोखालिले प्रस्तुत गर्नुभएको हो भने विद्यालयका लेखापाल दिपराज तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
विद्यालयमा सबैभन्दा बढि हाजिरी हुने ३ जना विद्यार्थीलाई समाजसेवी विशाल तामाङले शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको छ ।
साथै कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम पनि भएको थियो । ख्यातिप्राप्त कलाकारका साथै विद्यार्थीहरूले मनोरञ्जन दिलाएका थिए । विद्यालयले अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी तथा कक्षागत रुपमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरेको थियो ।